दोलखा भीमेश्वर नगरपालिका–९ स्थित शिव पोखरी विस्तार हुने भएको छ । जिल्ला भित्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको यस पोखरीलाई अझ सुन्दर र आकर्षक बनाउने लक्ष्यसहित पोखरीको भौतिक पूर्वाधार विस्तार गर्न लागिएको हो ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरका अनुसार काठमाडौंबाट नजिक रहेको र नगरपालिका प्रवेश गर्नासाथ भेटिने शिव पोखरीलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित विस्तार योजना अघि बढाइएको हो । यो योजना आर्थिक वर्ष २०८२/८३ बाट कार्यान्वयनमा ल्याउने तयारीमा छ, जसको लागि पर्यटन र शहरी विकास मन्त्रालयमा प्रस्ताव पेश भइसकेको छ ।
हाल १४ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरीलाई २५ हजार वर्ग मिटरमा विस्तार गरिनेछ । साथै पोखरीलाई ११ मिटर गहिरो बनाउने, शिवको मूर्ति निर्माण, डेढ किलोमिटर लामो जीपलाइन, बोटिङको सुविधा, र डाङडुङ्गेडाँडाबाट पानी ल्याई सिँचाइका लागि उपयोग गर्ने व्यवस्था मिलाइनेछ ।
नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार करिब ५५ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । नगरप्रमुख मानन्धरले मन्त्रालयबाट बजेट स्वीकृत हुनेमा पूर्ण विश्वास व्यक्त गर्नुभयो । समुद्री सतहबाट २,५९२ मिटर उचाइमा रहेको शिव पोखरीबाट गौरीशंकर हिमश्रृङ्खला, शैलुङडाँडा, साढे ६ किलोमिटर नजिक रहेको डाङडुङ्गेडाँडा, गणेशथुम्की र म्याग्नेसाइट खानीसहित दोलखाको धेरैजसो भूभाग दृश्यावलोकन गर्न सकिन्छ । पोखरी नजिकै बन्न लागेको फिल्म सिटीले यस क्षेत्रको आकर्षण अझ बढाउने विश्वास गरिएको छ ।
भीमेश्वर नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिरहेको छ। शिव पोखरी विस्तार योजना त्यसै अभियानको महत्वपूर्ण अंश हो ।