स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम चरिकोटमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । एसकव डान्स स्टुडियोको आयोजनामा दोस्रो तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । स्थानीय कला, संस्कृति, भेषभूषा, संगीत र नृत्यलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रमले मनोरञ्जनसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमले दोलखाको मौलिक कला, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन, स्थानीय पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्नेछ । साथै, स्थानीय कलाकारको प्रतिभा उजागर हुनुका साथै पर्यटनसँग जोडिएका व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
एसकव डान्स स्टुडियोकी सीईओ सुस्मिता पाख्रिन तामाङले निराशालाई खुसीमा परिणत गर्नुका साथै कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रम एसकव डान्स स्टुडियोकी सीईओ सुस्मिता पाख्रिन तामाङको अध्यक्षता तथा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका र दोलखा उद्योग वाणिज्य संघलगायतले आर्थिक सहयोग गरेका थिए भने एभरेष्ट इभेन्ट्स र एनआरडी इन्टरटेनमेन्टले सांस्कृतिक तथा प्राविधिक सहयोग गरेका थिए । आयोजक फुर्वा शेर्पाका अनुसार विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैबीच, मिस ट्यालेन्ट तथा मिस मल्टिमिडियाको विजेता र मिस तामाङको उपविजेता बन्न सफल एसकव डान्स स्टुडियोकी सीईओ सुस्मिता पाख्रिन तामाङलाई भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले सम्मान गर्नुभएको थियो ।