भीमेश्वर नगरपालिका–२ चाथलीमा रहेको थामी रिसोर्ट अब रैथाने खानाको स्वाद चाख्न चाहनेका लागि रोजाइको गन्तव्य बन्दै गएको छ । यहाँ थामी समुदायको रैथाने परम्परागत, पौष्टिक र स्वादिलो परिकारको स्वाद लिन पाइन्छ ।

विगतमा वैदेशिक रोजगारीमा गएका भविन्द्र थामीले गाउँ फर्केपछि थामी जातिको मौलिक संस्कृति जोगाउने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । अहिले उनको थामी रिसोर्टमा थाङ्मी खाजा सेट, मालेखोले, यरे, मकैको ढिडो, सिस्नु जस्ता थामी समुदायको रैथाने खाना ग्राहकका लागि उपलब्ध छ ।
खाजा मात्र होइन, संस्कृतिको स्वाद पनि

थामी समुदायका बस्तीहरू—भीमेश्वर नगरपालिका, विगु र कालिञ्चोक गाउँपालिकाका क्षेत्रमा—यी परिकार परम्परागत रूपमा पकाइने गरिन्थ्यो । कोदो, मकै, चामल, फापर, गहुँजस्ता स्थानीय अन्नको पिठोबाट बनाइने यी खाजाहरू खास गरी पाहुना सत्कार, चाडपर्व, शुभकार्य र पारिवारिक भेटघाट हुँदा बनाइन्थे ।
सञ्चालक भविन्द्र थामी भन्छन्, “रैथाने खाना अलिक झन्झटिलो भए पनि स्वादिलो र स्वास्थ्यवद्र्धक हुन्छ । पाहुना आएमा यसैलाई विशेष परिकारको रूपमा प्रस्तुत गर्छौं । कतिपय अवस्थामा घरमै पारेको कोदोको रक्सी पनि खाजा सेटसँगै दिइन्छ ।“
स्वादको सन्देश फैलिँदै

भालेको मासुको परिकारले थामी रिसोर्ट निकै लोकप्रिय बनेको छ । बजारमा पाइने चिल्लो र मसालेदार परिकारभन्दा भिन्न, यहाँको रैथाने खाजा चिल्लो कम, मसला मधुरो र पौष्टिक हुने भएकाले ग्राहकहरूबाट प्रशंसा पाइरहेको छ । थामी जातिको रैथाने खाना हराउँदै गएको हुँदा यस प्रयासले परम्परा र पाहुनाको चाहना एउटै थालमा समेट्ने प्रयास थामी रिसोर्टले गरिरहेको छ । भविन्द्र थामीको यो पहलले रैथाने खानाको संरक्षण मात्रै होइन, पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याउने विश्वास गर्न सकिन्छ ।