नेताको आश्वासनप्रति मतदाताको विश्वास दिनप्रतिदिन घट्दो छ । चुनावको बेला आकर्षक प्रतिवद्धता सुनाएर मत फकाउने तर चुनावपछि वाचा बिर्सिने प्रवृत्तिले गर्दा दोलखाको विगु गाउँपालिका–१ ठाडी लामाबगरका मतदाताले अब नेताको कुरा पत्याउनै छाडेका छन् ।

चुनाव नजिकिँदै जाँदा गाउँमा चुनावी चहलपहल बढेको छ । तर ठाडी, तल्लो ठाडी र नाङमाका मतदाता भने यसपटक नेताको भाषण सुन्नेभन्दा आफ्नै छिमेकीसँग छलफलमा व्यस्त छन् । “चुनाव आउँदा हाम्रो गाउँका सबै समस्या समाधान गर्छु भन्ने, जितेपछि नाक–मुखै नदेखाउने,” नाङमाका मेघराज तामाङ आक्रोशित हुँदै भन्नुहुन्छ, “अब त्यस्ता आश्वासनमा विश्वास गर्ने अवस्था रहेन ।”

स्थानीयका अनुसार जगतदेखि नाङमासम्म सडक त पुगेको छ, तर अवस्था दयनीय छ । बोलेरो गाडी हिउँदमा मात्रै चल्ने गर्छ, वर्षायाम लागेपछि २–३ घण्टा पैदल हिँडेर गोंगर वा जगत बजार पुग्नुपर्ने बाध्यता छ । नाङमाका सुब्बा तामाङका अनुसार जगतदेखि नाङमासम्मको ९ किलोमिटर सडक पार गर्नै एक घण्टा लाग्छ बोलेरो गाडीमा । ठूला गाडीलाई मोड पुग्दैन, साना गाडी गुडाउन पनि खाल्डाखुल्डी र नालीको अभावले समस्या हुन्छ । पटक–पटक नेताहरूसँग सडक स्तरोन्नतिको माग राखिए पनि आवश्यक बजेट नपरेको उनीहरूको गुनासो छ । “सुरुमा नेताको कुरा पत्याएर भोट दियौं, तर ८–९ किलोमिटर सडकका लागि बजेटसमेत नपर्दा निराश भएका छौं,” उनी भन्छन् ।

तल्लो ठाडी, ठाडी र नाङमा लगभग ५ सयभन्दा बढी घरधुरी छन् । यहाँ करिब १ हजार २ सय मतदाता छन्, अधिकांश तामाङ समुदायका । विगतमा एकताबद्ध भएर मतदान गर्ने यहाँका मतदाताले यसपटक भने फरक रणनीति बनाएका छन् । “हामीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरियो,” मेघराज तामाङ भन्छन् । “अब हाम्रो एजेण्डा समेटिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी कसैलाई भोट दिँदैनौं ।”
गाउँमा घर–घरमा धारा जडान गरिएको छ, तर पानी भने झर्दैन । “थोरै बजेट भए पनि पानीको समस्या समाधान हुन्थ्यो,” सुब्बा तामाङ भन्छन् । स्वास्थ्यको अवस्था पनि उस्तै छ । भवन बनेको छ, तर स्वास्थ्यकर्मी छैनन् । सामान्य टाउको दुख्दा वा चोटपटक लाग्दा पनि सयौं रुपैयाँ खर्च गरेर बजार धाउनुपर्छ । “स्वास्थ्य भवनले हामीलाई हेरेर बसेजस्तो छ, तर सेवा पाउन बजार जानैपर्छ,” उनी गुनासो गर्छन् ।
५ सय घरधुरीमध्ये एक जना मात्र सरकारी सेवामा छन् । रोजगारी अभावका कारण करिब ४० प्रतिशत युवा वैदेशिक रोजगारीमा छन् भने ४० प्रतिशत विभिन्न जलविद्युत् आयोजनामा ज्यालादारी गर्छन् । बाँकी २० प्रतिशत मात्र गाउँमा छन् । ठाडीका रामसिंह तामाङका अनुसार परम्परागत खेतीमा निर्भर गाउँमा उत्पादन भएको अन्न तीन महिना पनि पुग्दैन । “२५ वर्षको उमेरदेखि भोट हाल्दै आएको छु, तर बल्ल सडक, विद्यालय र विद्युत् देख्न पाएँ,” उनी भन्छन् ।
उनको भनाइमा, “यदि नेताले जनताको लागि सोचेर काम गरेको भए रोजगारी सिर्जना हुन्थ्यो, युवाले विदेश जानु पर्दैनथ्यो । तर जितेपछि आफ्नै घर बनाउने र गाडी चढ्ने काममा लाग्छन्, जनताको समस्या बिर्सिन्छन् ।”
भौगोलिक रूपमा ओझेलमा परेको यो गाउँ राजनीतिक रूपमा पनि ओझेलमै परेको स्थानीयको गुनासो छ । आधारभूत आवश्यकता पूरा नहुँदासम्म नेताको भाषणमा विश्वास गर्ने अवस्था नरहेको उनीहरू बताउँछन् । यसपटक भने उनीहरू स्पष्ट छन्—लिखित प्रतिबद्धता बिना भोट छैन ।