हिउँद लागेसँगै चिसोले कठ्यांग्रिएको लुम्नाङ गाउँमा अहिले सडक त पुगेको छ, तर उम्मेदवारका पाइला भने अझै टेकिएका छैनन् । विकासको पहिलो प्रतीक मानिने सडक आएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तर, लोकतन्त्रको उत्सव मानिने निर्वाचन नजिकिँदै गर्दा पनि मत माग्न कोही नेता गाउँ छिरेका छैनन् ।
लुम्नाङका बासिन्दा यतिबेला सडक र राजनीतिबीचको फरक अनुभव गरिरहेका छन् । लामाबगरदेखि लुम्नाङसम्म दुगड हाइड्रोपावरले सडक निर्माण गरेपछि यात्राको दुःख केही कम भएको छ । तर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उठेका उम्मेदवारहरू भने भोट माग्न नआएको स्थानीय कर्म शेर्पाको गुनासो छ ।
“सडक त घरसम्म आयो, तर हाम्रा समस्या सुन्न र भोट माग्न कोही आएनन्,” शेर्पा भन्छन्, “पहिला त हामी नै लाप्चीबाट ६ घण्टा हिँडेर लुम्नाङ झथ्र्यौं, भोट हाल्न । अहिले चिसो मौसम भएकाले चैत्रसम्म यही बस्छौं, तर नेता देखेका छैनौं ।”
१३ घर, ७० मतदाता, तर नेतृत्वको अनुहार बेपत्ता
हिउँद सुरु भएसँगै लाप्चीका बासिन्दा लुम्नाङ सर्छन् । अहिले गाउँमा १३ घरपरिवार बसोबास गरिरहेका छन् । करिब ७० मतदाता रहेको यो बस्तीमा न नेता देखिन्छन्, न विकासको ठोस अनुभूति । सडकबाहेक अरू विकासको अनुहार देख्न नपाएको स्थानीय बताउँछन् । मतदानको दिन गाउँका अगुवाले भनेकै ठाउँमा भोट हाल्ने चलन छ । तर किन भोट हालियो, कसलाई हालियो, त्यसले के परिवर्तन ल्याउँछ भन्नेबारे धेरैलाई जानकारी छैन ।
खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य चौकी, टेलिफोन, इन्टरनेट र तिब्बतसँगको नाका सञ्चालन—यी सबै सपना बोकेर यहाँका बासिन्दाले पटक–पटक भोट हालेका छन् । तर नेताको अनुहार भने देख्न पाएका छैनन् । फोनमार्फत एमाले, नेकपा र रास्वपाका उम्मेदवारले भोट मागेको कर्म शेर्पा बताउँछन् । तर “अरू उम्मेदवारले त फोनसमेत गरेनन्,” उनी भन्छन् ।
“हामी पनि यही जिल्लाका नागरिक हौं”
स्थानीय कुन्जु नोर्बु शेर्पाले दुई पटक भोट हालिसके । तर उनले नेताको अनुहार देखेका छैनन् । “गाउँमा विकास भनेको के हो, हामीले देखेकै छैनौं,” उनी भन्छन्, “तर भोट भने पटक–पटक हाल्यौं । हामी पनि यही जिल्लाका नागरिक हौं, विकासमा पक्षपात किन ?” पहिला लाप्चीबाट ६ घण्टा हिँडेर लुम्नाङ आएर मतदान गर्नुपथ्र्यो । अहिले लामाबगरबाट १,१०० मिटर सुरुङ मार्ग र थाङसेमुसम्म २४ किलोमिटर सडक निर्माण भएपछि केही सहज भएको छ । हिउँदमा लुम्नाङमै बसेर मतदान गर्न पाउनु पनि उपलब्धि नै हो ।
तर सडक पुगे पनि गाडी चल्दैन । अझै थाङसेमुुबाट लामाबगरसम्म हिँडेरै पुग्नुपर्छ । सधैं हाइड्रोपावरको गाडिले बोक्न मान्दैनन् । सडक हाइड्रोपावरकै कारण बनेको हो, राज्यको प्रत्यक्ष लगानी होइन भन्ने बुझाइ स्थानीयमा छ ।
सम्भावनाको गाउँ, बेवास्ताको राजनीति
युवाशक्ति पलायन भइसकेको यो गाउँमा चौरीपालन, धार्मिक पर्यटन र जडिबुटीको सम्भावना प्रशस्त छ । तर ती सम्भावनालाई उजागर गर्ने नीति, योजना वा पहल देखिएको छैन । स्थानीयको आग्रह स्पष्ट छ—लाप्चीबासीलाई भोट बैंकको रूपमा मात्र नहेरियोस् । मत माग्ने बेला मात्र सम्झिने र चुनाव सकिएपछि बिर्सिने प्रवृत्ति अन्त्य होस् ।
लोकतन्त्रको मूल आत्मा जनताको पहुँचमा नेता पुग्नु हो । तर यहाँ अवस्था उल्टो छ—जनताले नै हिँडेर मतपेटिकासम्म पुग्नुपर्छ, नेताहरू भने पहुँचको दूरी घटाउन चाहँदैनन् ।
सडकले दूरी घटायो, तर राजनीति अझै टाढै छ । लुम्नाङको प्रश्न यही हो—सडक पुग्दा पनि उम्मेदवार किन पुग्दैनन् ?