भीमेश्वर नगरपालिकाको आयोजनामा दुई दिने “स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला” आयोजना गरिने भएको छ । स्थानीय सरकार सशक्तीकरण कार्यक्रमको सहकार्यमा आयोजना हुने यो कार्यशाला कात्तिक २७ र २८ गते सम्पन्न हुने नगरपालिकाले जानकारी दिएको छ ।
कार्यशालाको उद्देश्य सातै प्रदेशका नगरपालिकाबीच स्थानीय शासनका उत्कृष्ट अभ्यासहरू साटासाट गर्दै आपसी सिकाइ र अनुभव आदान–प्रदान गर्नु रहेको भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर वानियाँको प्रमुख आतिथ्यतामा हुनेछ ।
दुई दिने कार्यक्रममा कोशी प्रदेशबाट दमक नगरपालिका, मधेश प्रदेशबाट मिथिला नगरपालिका, गण्डकी प्रदेशबाट वालिङ र गल्याङ नगरपालिका, लुम्बिनी प्रदेशबाट तानसेन नगरपालिका, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका र सुदूरपश्चिम प्रदेशबाट टीकापुर तथा भजनी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित अधिकारीहरूको सहभागिता रहनेछ ।
त्यसैगरी भीमेश्वर नगरपालिकाका भगिनी सम्बन्ध भएका ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका र जिरी नगरपालिकाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुनेछन् । जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र सरोकारवाला निकायहरूको समेत सहभागिता रहने जानकारी आज पत्रकार भेटघाटमार्फत आयोजकले दिएको छ ।
कार्यशालाको अवसरमा सहभागीहरूले दोलखाका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू, दोलखा सम्पदा बस्ती तथा नगरपालिकाका महत्वपूर्ण पूर्वाधारहरूको अवलोकन गर्ने कार्यक्रम समेत तय गरिएको उप–प्रमुख कमला बस्नेतले बताउनुभयो ।
आयोजकका अनुसार यस कार्यशालाबाट स्थानीय तहबीच असल अभ्यासको आदान–प्रदान, पारदर्शी शासन व्यवस्थाको प्रवद्र्धन तथा जिल्लाको पर्यटन विकास र प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।