प्राकृतिक स्रोत तथा द्वन्द्व रूपान्तरण केन्द्र नेपालद्वारा आयोजित दिगो शान्तिका लागि उन्नत सम्बन्ध विषयक समन्वय तथा सल्लाहकार समितिको बैठक चरिकोटमा सम्पन्न भएको छ । बैठकमा सल्लाहकार समिति तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा संस्थाको परिचय, जिल्लामा सञ्चालन भइरहेका बहुसरोकार–द्वन्द्व रूपान्तरण अभियान तथा दिगोपनासम्बन्धी कार्यक्रम र चालु आर्थिक वर्षका गतिविधिबारे विस्तृत प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रमका दौरान प्राकृतिक स्रोत तथा द्वन्द्व रूपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक रीता मानन्धरले अभियानअन्तर्गत २०८२ साल असार मसान्तसम्म ४३० वटा द्वन्द्व रूपान्तरण गरिएको जानकारी दिनुभयो ।
संस्थाले दोलखा जिल्लाका स्थानीय तहहरूसँग समन्वय गर्दै थुप्रै महत्वपूर्ण विवाद समाधान तथा सहजीकरण कार्य गरेको छ । कालिञ्चोक गाउँपालिका–१ र विगु गाउँपालिका–८ स्थित बोकल्थली बाघखोर सामुदायिक वन, मेलुङ गाउँपालिका–७ मा मल्लिका सामुदायिक वन, भीमेश्वर नगरपालिका–८ को चर्नावती सामुदायिक वन र भित्तेरी सामुदायिक वन, भीमेश्वर नगरपालिका–९ को संखादेवी सामुदायिक वनको पानीको मुहान उपयोग सम्बन्धी विवाद पनि संस्थाले सहजीकरण गरेको थियो । त्यस्तै सरस्वती सामुदायिक वनको जग्गा उपभोग र शैलुङ गाउँपालिका– ३, ६ र ८ मा अवस्थित समाधी स्थल उपयोग सम्बन्धी विवादमा संस्थाले सक्रिय रुपमा आठौं चरणमा सहजीकरण गरेको मानन्धरले बैठकमा बताउनुभयो ।
बैठक जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, उपाध्यक्षद्वय गायत्री आचार्य र पार्वती थापा कार्की लगायतका वक्ताहरूले दिगो शान्ति निर्माणमा समन्वय र संवादको महत्वबारे आ–आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।
बैठकमा जिल्लास्थित अन्य निकाय तथा सरोकारवालाहरूको समेत सहभागीता थियो ।