सामुदायिक वनको नेतृत्व अब सक्षम, जोसिला र दूरदर्शी युवाले लिनुपर्नेमा सहभागीहरूले एकमत प्रकट गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ दोलखा तथा डिभिजन वन कार्यालय दोलखाको संयुक्त आयोजनामा सम्पन्न दुई दिने जिल्ला स्तरीय नेटवर्किङ गोष्ठीमा सहभागीहरूले नेतृत्व पुस्तान्तरणको आवश्यकता औंल्याए ।
युवाले नेतृत्व गरेमा युवाको ऊर्जा, पारदर्शिता, विश्वसनीयता र आयआर्जनसँग जोड्न सक्ने क्षमताले सामुदायिक वनलाई अझ गतिशील बनाउन सक्छ । सहभागीहरूका धारणा अनुसार, समयानुकूल विचार राख्ने युवाको नेतृत्वले सामुदायिक वन संस्थाहरूलाई प्रभावकारी, पारदर्शी र सक्षम बनाउन मद्दत पुग्नेछ ।
त्यसै अवसरमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले सामुदायिक वनलाई समुदायको आयआर्जनसँग जोडिनुपर्ने आवश्यकतामा जोड दिए । उनले बागमती प्रदेशभरका सामुदायिक वनहरूको कार्ययोजना पुनर्लेखन गरी सदस्यहरूलाई आयआर्जनका क्रियाकलापमा सहभागी गराउने तयारी भइरहेको जानकारी दिए ।
“हरियो वन नेपालकै धन” भन्ने नारालाई अब “हरियो वन जनताको समृद्धि”सँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री केसीले देशभर प्रशस्त सामुदायिक वनहरू स्थापना भए पनि तिनको प्रभावकारी व्यवस्थापन हुन नसकेको उल्लेख गरे । उनले दिगो वन व्यवस्थापनका लागि वनजनताको रोजगारी र आम्दानीसँग वनलाई प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिए ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ दोलखाका अध्यक्ष जगनाथ बस्नेतको अध्यक्षतामा भएको थियो । त्यस्तै डिभिजनल वन अधिकृत अनिल रेग्मी र सामुदायिक वनका अभियन्ता भोला खतिवडाले अवसर, चुनौती र भावी कार्ययोजनाबारे प्रस्तुति दिए । कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, खोरथली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण बहादुर थापा लगायतका सहभागीहरूले सामुदायिक वनको सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।