दोलखाको सदरमुकाम चरिकोटमा तामाङ समुदायको महान पर्व २८६२ औँ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । तिथिले माघ ५ गते परे पनि पूर्वसन्ध्याका रूपमा माघ ३ गते ल्होछार कार्यक्रम आयोजना गरिने भएको हो ।
भीमेश्वर नगरपालिका–३, चरिघ्याङमा अवस्थित चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा ल्होछार मनाउन लागिएको कार्यक्रम संयोजक दावा लामाले जानकारी दिनुभयो । ल्होछार आयोजनाका लागि विभिन्न सरोकारवाला निकायहरूसँग छलफल, भेटघाट, अन्रक्रिया कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
यसै क्रममा आज विभिन्न सरोकारवाला निकायसँग छलफल कार्यक्रम आयोजना गरिएको छ । छलफल कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति दोलखाका पूर्वअध्यक्ष नविन लामा, चरिकोट शाखामा कार्यरत बैंक म्यानेजरहरू, बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक तथा नैतिक सहयोगका विषयमा छलफल भएको र सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएको संयोजक लामाले जानकारी दिनुभयो ।
दोलखा जिल्लामा जनसंख्याको हिसाबले तामाङ समुदाय दोस्रो स्थानमा रहेको उल्लेख गर्दै संयोजक लामाले तामाङ जातिको आफ्नै भाषा, संस्कार, संस्कृति, परम्परा र धर्म रहेको बताउनुभयो । ती मौलिक पहिचानको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले सोनाम ल्होछार आयोजना गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूका साथै राष्ट्रियस्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै, कार्यक्रम स्थलमा तामाङ समुदायको मौलिक पहिरन, खानपान तथा पुस्तकहरूका स्टलसमेत राखिने कलाकार कुइसाङ रुम्बाले जानकारी दिनुभयो ।