दोलखा स्वास्थ्य व्यवसायीक सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
साधारणसभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जिल्लाभित्र कार्यरत स्वास्थ्यकर्मीहरूको हित संरक्षण गर्दै जिल्लाबासीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले स्थापना गरिएको यस सहकारीले २०६५ सालमा स्थापना भई १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न योजना तथा कार्यक्रमसहित साधारणसभा सम्पन्न गरेको हो ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्य राखिएको यस सहकारीमा हाल ११६ जना शेयर सदस्य आबद्ध रहेका छन् । जिल्लाभित्र कार्यरत तथा तालिम प्राप्त स्वास्थ्यकर्मी र कर्मचारी मात्र सदस्य बन्न पाउने व्यवस्था रहेको छ ।

गत आर्थिक वर्षदेखि सहकारीले प्रत्येक शेयर सदस्यको मृत्युपश्चात् उनका आश्रित परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले सदस्यहरूको बचतबाट प्रतिवर्ष प्रतिसदस्य एक सय रुपैयाँ कट्टी गर्ने व्यवस्था लागू गरेको छ । यसका साथै दोलखा जिल्लामा स्थापना भई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूबाट प्रदान हुने सेवालाई अझ छिटोछरितो र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई सहकारीमार्फत निर्देशित गर्दै आएको छ । महामारी तथा प्राकृतिक विपद् जस्ता आपत्कालीन अवस्थामा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको सहकारीले संस्थामा आवद्ध महिला सदस्यमध्ये एक जना सुत्केरीलाई पोषण भत्ता वितरण गर्दै आएको जानकारी सञ्चालक समिति सदस्य प्रकाश घिमिरेले दिनुभयो ।
कार्यक्रम दोलखा स्वास्थ्य व्यवसायीक सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम खड्काको अध्यक्षता तथा संस्थाका पूर्वअध्यक्ष हरिहर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहसचिव लिला बहादुर थामीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनोज तामाङ लामाले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक रत्न बहादुर थामीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा पौरखी कृषि सहकारीका कोषाध्यक्ष गुरु प्रसाद न्यौपाने, मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईँ र संस्थाका पूर्वसचिव शान्ति न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्याम खड्काले जिल्लामा बढ्दै गएका नसर्ने रोगहरूको विषयको साथै स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विभिन्न निकायसँग समन्वय गरी विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सहकारीको उद्देश्यअनुसार स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी पनि उहाँले दिनुभयो ।