कुटिडाँडा माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । भीमेश्वर नगरपालिका–७ मकैबारीस्थित कुटिडाँडा माविमा नेपाली सेनाका पूर्वसैनिक अधिकृत (कर्णेल) निरञ्जन बस्नेतले आफ्ना बुबाआमाको स्मृतिमा ‘शिवलिला आशीर्वाद अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

भीमेश्वर नगरपालिका–७ का वडाध्यक्ष विनोद तामाङका अनुसार कर्णेल बस्नेतले आफ्ना पुख्र्यौली जन्मथलोप्रतिको माया र सामाजिक उत्तरदायित्व बोध गर्दै अक्षयकोष स्थापना गर्नुभएको हो । बुबा–आमाको नामबाट स्थापना गरिएको यस अक्षयकोषले आगामी पुस्ताको शिक्षा र सामाजिक सेवामा दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

अक्षयकोषबाट प्राप्त ब्याज रकम वार्षिक रूपमा विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने छ । यसले शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई निरन्तर अध्ययनमा प्रेरित गर्ने विश्वास गरिएको छ । साथै, सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै अशक्त, असहाय तथा वयोवृद्ध नागरिकलाई समेत आवश्यक सेवा–सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको अक्षयकोष संस्थापक कर्णेल बस्नेतले बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा शिक्षामार्फत समाज रुपान्तरण गर्ने उद्देश्यले यो कदम चालिएको उहाँको भनाइ छ । यस्ता योगदानले विद्यालय मात्र नभई सिंगो वडाको शिक्षा क्षेत्रलाई ठूलो सहयोग पुग्ने वडाध्यक्ष तामाङले उल्लेख गर्नुभयो । उहाँका अनुसार कर्णेल बस्नेतका बुबा लिला बहादुर बस्नेत (धनकाजी) समाजमा प्रधानपञ्चको रूपमा रहँदा पनि सकारात्मक छवि बनाएका व्यक्तित्व हुनुहुन्थ्यो ।
अक्षयकोषलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न विद्यालयले ‘अक्षयकोष सञ्चालन विनियमावली–२०८२’ समेत निर्माण गरेको छ । उक्त विनियमावलीअनुसार कर्णेल निरञ्जन बस्नेत, उहाँकी धर्मपत्नी सरस्वती बस्नेत तथा छोरा निराग बस्नेतको पहलमा बुबा लिला बहादुर बस्नेत र आमा शिवकुमारी बस्नेतको नाममा अक्षयकोष स्थापना गरिएको हो ।
विनियमावलीमा प्राप्त ब्याज रकम विद्यालयको प्रगति, समृद्धि र शैक्षिक उन्नयनमा खर्च गरिने उल्लेख छ । शिक्षामार्फत समाजमा रहेको अज्ञानताको अन्धकार हटाई ज्ञानरूपी उज्यालो फैलाउने अभियानमा यस अक्षयकोषले महत्वपूर्ण साथ दिने विश्वास विद्यालय व्यवस्थापन समितिले व्यक्त गरेको छ । स्थानीय समुदायले पनि यस पहललाई उदाहरणीय सामाजिक योगदानको रूपमा स्वागत गरेका छन् ।