सोनाम ल्होछारको अवसरमा यस वर्ष दोलखा चरिकोटमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होछारको अवसरमा चरिकोटको सातदोबाटोमा भव्य सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
लामो समयपछि दोलखामा ल्होछारलाई केन्द्रमा राखेर यस्तो ठूलो कार्यक्रम आयोजना हुन लागेको बताउँदै कार्यक्रम संयोजक दावा लामाले यस वर्षको ल्होछार विशेष र फरक ढङ्गले मनाउन लागिएको जानकारी दिनुभयो । जिल्लाभरका तामाङ समुदायका साथै मनोरञ्जनप्रेमी दर्शकहरूलाई सदरमुकाममा भेला गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । यस किसिमको कार्यक्रमले तामाङ समुदायको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै दोलखाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष तथा महत्वपूर्ण सांस्कृतिक पर्व हो । तामाङ समुदायको मौलिक पहिचान, संस्कार, परम्परा र सांस्कृतिक एकताको प्रतीकका रूपमा ल्होछार मनाइँदै आएको छ । कार्यक्रम व्यवस्थापक तथा कलाकार कुईसाङ रुम्बाका अनुसार यस वर्षको ल्होछार कार्यक्रमलाई अझ भव्य, सभ्य र आकर्षक रूपमा मनाउने तयारी गरिएको छ ।
बृहत सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, अमिर दोङ, याङ्जी दोङ, सुवास मोक्तान, प्रतिक मोक्तान, सानुबाबु घिसिङ, सुशिल तिदाङ, मिन योञ्जन र कोपिला वाइवा लगायत राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । साथै कार्यक्रम स्थलमा तामाङ समुदायको सांस्कृतिक झल्को दिने भेषभूषा, परम्परागत खानाका परिकार, डम्फु तथा अन्य सांस्कृतिक सामग्रीहरू सजाइने व्यवस्थापन गरिएको कुईसाङ रुम्बाले जानकारी दिनुभयो ।
बृहत सांस्कृतिक कार्यक्रम माघ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले सम्पूर्ण तामाङ समुदायसहित सबै संस्कृति प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई ल्होछारलाई उल्लासमय बनाउन आग्रह गरेको छ ।