विभिन्न कारणले अकालमै मृत्यु भएका व्यक्तिहरूको सम्झनामा भीमेश्वर नगरपालिका–६ चोथाङमा तीनदिने विश्व शान्ति पूजा आयोजना हुने भएको छ । निर्माणाधीन अवस्थामा रहेको टसी तामाङ गोन्पाको आयोजनामा उक्त पूजा कार्यक्रम माघ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

मानवसहित सम्पूर्ण प्राणी जगतमा सुख, शान्ति, समृद्धि, दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोत्तर उन्नति–प्रगति कामना गर्दै, साथै विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले पूजा आयोजना गरिएको टसी तामाङ गोन्पा व्यवस्थापन समितिका संयोजक नविन कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पूजामार्फत चोथाङ ह्युल शुद्धीकरण गर्नुका साथै विभिन्न बाधा–अड्चनबाट मुक्ति प्राप्त हुने विश्वास लिइएको छ ।

पूजाको क्रममा समस्त प्राणी जगतको हितका लागि शिघेवाङढाग्को च्योइ झिन्सेक पूजा, सुर माणि मोलम, रिग्झिन धुइपा सोल्खसहित आयु अभिषेक (वाङ) कार्यक्रम सम्पन्न गरिनेछ । कार्यक्रममा प्रमुख लामाहरू तथा अन्य लामाहरूको उपस्थिति रहनेछ । विशेषगरी भीमेश्वर नगरपालिकाभित्र रहेका सात वटा गुम्बाका लामाहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
तीनदिने पूजा अवधिभर धर्मगुरु क्याबजे छोक्डुल धोन्दुक रिन्पोर्छे, धर्मगुरु ङाक्पा पेमा राङडोल तथा धर्मगुरु खेन्पो सोनाम छिरिङ घिसिङबाट प्रमुख प्रवचन हुने संयोजक लामाले जानकारी दिनुभयो ।
पूजालाई भव्य र व्यवस्थित रूपमा सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । कार्यक्रम प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म टसी तामाङ गोन्पा, चोथाङको प्राङ्गणमा सञ्चालन हुनेछ ।