दोलखाको सदरमुकाम चरिकोटमा रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विशेष कार्यक्रमका बीच आयोजित सभामा संस्थाले विगत एक वर्षमा गरेका गतिविधिहरूको समीक्षा गर्नुका साथै आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
कार्यक्रममा संस्थाका सचिव रामबहादुर शिवाकोटीले सहकारीको प्रगति विवरण प्रस्तुत गर्दै स्थापना कालमा सीमित २–४ वटा सवारी साधनबाट सुरु भएको सेवा अहिले उल्लेखनीय रूपमा विस्तार भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सहकारीमार्फत ३२ वटा बस र २७ वटा विद्युतीय (इभी) सवारी साधन गरी जम्मा ५९ वटा गाडी दोलखाका अधिकांश क्षेत्र तथा देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका छन् ।
सचिव शिवाकोटीले यात्रुलाई गुणस्तरीय सेवा, सुरक्षित यात्रा र सुविधायुक्त सवारी साधन उपलब्ध गराउँदै आएको कारण रोल्वालिङ यातायात र सहकारीप्रति आम नागरिकको विश्वास निरन्तर बढ्दै गएको बताउनुभयो ।
संस्थाका अध्यक्ष मिङगुर शेर्पाको अध्यक्षतामा सम्पन्न साधारणसभामा यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष (पूण्यप्रसाद) सरोज सिटौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सहकारी संस्थाको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।
सभामा सचिव शिवाकोटीले प्रगति प्रतिवेदन, सञ्चालक समितिका सदस्य तथा ऋण उपसमिति संयोजक भक्तबहादुर खड्काले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कुमार कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले आगामी दिनमा सेवा विस्तार, विद्युतीय सवारीको संख्या वृद्धि तथा यात्रुमैत्री सेवा थप प्रभावकारी बनाउने लक्ष्यसहित अघि बढ्ने जनाएको छ ।