वस्तुपरक र यथार्थ विवरण संकलन गर्ने गरी राष्ट्रिय आर्थिक गणना प्रभावकारी बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । सदरमुकाम चरिकोटमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आर्थिक गणनालाई औपचारिकतामा सीमित नराखी नागरिकको वास्तविक आर्थिक अवस्था प्रतिबिम्बित गर्ने बनाउन जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले आर्थिक गणना कतिपय अवस्थामा औपचारिकता पूरा गर्ने र बजेट सक्ने माध्यमजस्तो बनेको टिप्पणी गरे । उनले आगामी गणनालाई नागरिकको जीवनस्तर, आर्थिक हैसियत र योगदान स्पष्ट देखिने गरी केन्द्रित गर्नुपर्ने बताए । “स्थलगत रूपमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गरी वास्तविक अवस्था बुझ्नुपर्छ,” उनले भने ।
त्यसैगरी दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले आर्थिक गणनाले नीति निर्माण र योजना तर्जुमामा ठोस आधार दिनुपर्ने उल्लेख गरे । उनले वास्तविक आर्थिक गतिविधि, उत्पादन प्रणाली र सेवामूलक कार्यलाई केन्द्रमा राखेर गणना गर्नुपर्नेमा जोड दिए । अनुदान वा सहयोग पाउने आशामा मात्रै व्यवसाय दर्ता गर्ने प्रवृत्ति रोक्न पनि गणनाले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
घिमिरेले गाउँघरमा जीविकोपार्जनका लागि गरिने गाईवस्तु, बाख्रा, कुखुरा पालन वा कुलपूजाका लागि निर्माण गरिने मठमन्दिर जस्ता परम्परागत गतिविधिलाई अनावश्यक रूपमा व्यवसायिक दर्तासँग नजोड्न सुझाव दिए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षता र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय आर्थिक गणना दोलखाका प्रमुख पवन मिजारले आर्थिक गणनाको उद्देश्य र महत्वबारे प्रस्तुति दिएका थिए । उनका अनुसार देशभर सञ्चालनमा रहेका वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै आर्थिक एकाइमा पुगेर विवरण सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन तथा वितरण गर्ने समष्टिगत प्रक्रियालाई आर्थिक गणना भनिन्छ । आर्थिक गणनाले नीति निर्माण, योजना तर्जुमा तथा तय गरिएका लक्ष्यहरूको मापनमा महत्वपूर्ण सहयोग पु¥याउने उनले बताए ।
मिजारका अनुसार आर्थिक गणनाबाट प्रतिष्ठानहरूको संख्या, क्षेत्रगत संरचना, आकार तथा वितरणसम्बन्धी तथ्याङ्क तयार हुने, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुने तथा तथ्याङ्कीय व्यवसायिक रजिस्टर निर्माण र अद्यावधिकका लागि आधार तयार हुने गर्दछ ।