गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा जित्ने बलियो अपेक्षा हुँदाहुँदै आफू पराजित भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका उम्मेदवार विशाल खड्काले बताएका छन् ।

उनले चुनाव जित्ने लक्ष्यसहित विभिन्न रणनीति र विकल्पहरू अपनाएको उल्लेख गर्दै संगठनको मत, पार्टी एकीकरणको प्रभाव, प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेभित्रको असन्तुष्ट मत, नयाँ पार्टीप्रतिको आकर्षण तथा समसामयिक राजनीतिक असन्तुष्टिको लहर आफू पक्षमा आउने अपेक्षा गरेको बताए । साथै, जिल्लामा गरेका विकासका कामका आधारमा पनि आफू विजयी हुनेमा विश्वस्त रहेको उनले उल्लेख गरे ।
तर, देशभरकै चुनावी परिणाम अपेक्षा विपरीत आएको भन्दै उनले त्यसलाई स्वीकार गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई मतदाताले राम्रोसँग नचिने पनि समर्थन गरेर जिताएको उनले टिप्पणी गरे ।
खड्काले विजयी उम्मेदवार जगदीश खरेलले चुनावी प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन् । जिरी ताल, लाप्ची नाका, सडक कालोपत्रेलगायत थुप्रै विकासका कामहरू बाँकी रहेकाले ती पूरा गर्नु चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति दोलखाको दुई दिनसम्म चलेको बैठकले पनि यही निष्कर्ष निकालेको हो । बैठकले टोल, वडा तहसम्मको निर्वाचनको गहिरो समीक्षा गर्दै परिणामलाई स्वीकार गर्ने र आगामी दिनमा नागरिकको सुख–दुःखमा साथ दिने निर्णय गरेको जनाएको छ ।
गत निर्वाचनमा दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ हजार ३७६ मत प्राप्त गरी अग्रता हासिल गर्दा नेकपा एमालेले १७ हजार ४४९, नेकपाले १३ हजार ६५ र नेपाली कांग्रेसले १२ हजार २९८ मत प्राप्त गरेका थिए ।
विशाल खड्का बागमती प्रदेश सरकारका वन तथा वातावरण पूर्वमन्त्री हुन् । उनी प्रतिनिधि सभामा पहिलो पटक उम्मेदवार बनेका थिए ।