दोलखाको भीमेश्वर नगरपालिकामा अवस्थित खोरथली सामुदायिक वन उपभोक्ता समूहले एकै आर्थिक वर्षमा करोडभन्दा बढी आम्दानी गर्दै उदाहरणीय सफलता हासिल गरेको छ । समूहले गत आर्थिक वर्षमा काठ बिक्री र अन्य स्रोतहरुबाट एक करोड दुई लाख रुपैयाँ आम्दानी गरेको हो ।
भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ मा फैलिएको, चरिकोट बजार नजिकै रहेको खोरथली सामुदायिक वन प्राकृतिक सुन्दरता मात्र होइन, स्थानीयको आयआर्जनको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको छ । एक समय घाँस, दाउरा र पत्केरका लागि मात्र प्रयोग हुने वन अहिले “दुहुनो भैंसी” जस्तै बनेको समूहका अध्यक्ष नारायण बहादुर थापाले बताउनुभयो ।
“पहिला वन जोगाउन उपभोक्तालाई सम्झाउनुपथ्र्यो, अहिले वनले आम्दानी दिन थालेपछि उपभोक्ताहरू आफैं संरक्षणमा जुटेका छन्,” अध्यक्ष थापाको भनाइ छ ।
२०४७ सालदेखि सामुदायिक वनको अवधारणा सुरु भएको यस वनले २०५० सालपछि औपचारिक मान्यता पाएर व्यवस्थित संरक्षण थालिएको हो । १७८ हेक्टर क्षेत्रफलमा फैलिएको वनभित्र सिमपानीदेखि भ्यूटावरसम्म पदमार्ग, वनभोज पार्क, थोपापोखरी लगायतका संरचना निर्माण गरिएका छन्, जसले पर्यटक आकर्षण बढाएको छ ।
अन्य सामुदायिक वनभन्दा फरक व्यवस्थापन शैली अपनाउँदै स्थानीय समुदाय स्वयं संरक्षण र व्यवस्थापनमा सक्रिय भएपछि आम्दानी वृद्धि भएको हो । वन संरक्षणका लागि ५ जना हेरालु र १ जना कार्यालय सचिव राखिएको छ ।
वन व्यवस्थापनअन्तर्गत पुराना तथा परिपक्व रुखहरूको उचित कटान र व्यवस्थापन गरिँदा नयाँ बिरुवा हुर्कन सहयोग पुगेको छ भने समूहको आम्दानीसमेत बढेको छ ।
समूहले आफ्ना उपभोक्तालाई सस्तो र सहज रूपमा काठ उपलब्ध गराउँदै आएको छ । विशेषगरी भूकम्पपछि विपन्न परिवारलाई घर निर्माणका लागि सहुलियतमा काठ वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
हाल ७३७ घरधुरी आबद्ध रहेको यस वन समूहको सफलताले अन्य क्षेत्रका सामुदायिक वन समूहलाई पनि आकर्षित गरेको छ । अध्ययन तथा अवलोकनका लागि विभिन्न स्थानबाट टोलीहरू यहाँ आउने गरेका छन् । साथै, विभिन्न निकायबाट उत्कृष्ट वन समूहको रूपमा सम्मानित र पुरस्कृत समेत भएको छ ।
समूहले आगामी दिनमा वनलाई अझ व्यवस्थित बनाउँदै आयआर्जनका नयाँ सम्भावना विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।