भीमेश्वर नगरपालिकाको विकास गतिविधि, सेवा प्रवाह र जनचासोका विषयलाई केन्द्रमा राख्दै रेडियो नेपालको लोकप्रिय कार्यक्रम “स्थलगत बहस” चरिकोटमा सम्पन्न भएको छ । स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजित बहसले विकासका उपलब्धि, चुनौती र आगामी दिशा स्पष्ट पार्ने प्रयास गरेको छ ।

कार्यक्रम नगरपालिकाको कार्यालय परिसरमै सञ्चालन गरिएको थियो, जहाँ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, उद्योग, रोजगारी, सेवा प्रवाह तथा न्यायिक समितिसँग सम्बन्धित विषयमा खुला बहस भएको थियो । सेवाग्राहीहरूले भोग्दै आएका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा राख्दा नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला निकायका प्रतिनिधिहरूले तत्काल जवाफ दिएका थिए ।
बहसमा स्थानीय कृषकहरूको सहभागिता उल्लेखनीय देखिएको थियो । कृषकहरू माधव न्यौपाने, बालकृष्ण बस्नेत र प्रेमसिंह लामाले बजार व्यवस्थापनको अभाव, कृषि उपजको न्यून मूल्य, अनुदान वितरणको अस्पष्टता, कृषि सडकको कमजोर अवस्था, मल–बीउको अभावजस्ता समस्याहरू औँल्याएका थिए । उनीहरूले कृषिमा आधारित अर्थतन्त्र मजबुत बनाउन नगरपालिकाले प्राथमिकताका साथ ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरे ।
पर्यटन क्षेत्रबारे पनि चर्को बहस भयो । प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध भीमेश्वरमा गरिएको लगानीअनुसार प्रतिफल नआएको विषय उठेपछि नगरपालिकाले संरचनाको दिगोपन र व्यवस्थापनमा कमजोरी रहेको स्वीकार गरेको छ । नगर प्रमुख ईश्वर नारायण मानन्धरले आगामी दिनमा पर्यटन पूर्वाधारको प्रभावकारी उपयोग, संरक्षण र व्यवस्थापनमा सुधार ल्याइने प्रतिबद्धता जनाउँदै “विकाससँगै त्यसको दिगोपन सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो” भन्नुभयो ।
त्यस्तै, सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने, युवालाई रोजगारी सिर्जना गर्ने र स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने विषयमा पनि सरोकारवालाहरूबीच गहन छलफल भएको थियो । सहभागीहरूले विकासका योजना बनाउँदा स्थानीय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने र अनुगमन प्रणाली बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख, उद्यमी, कृषक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रेडियो नेपालका प्रस्तोता मनुका कुँवर र रिता तिमिल्सिनाले गर्नुभएको थियो ।
“स्थलगत बहस” कार्यक्रम रेडियो नेपालले देशका विभिन्न स्थानमा पुगेर स्थानीय मुद्दा उजागर गर्ने उद्देश्यसहित विगत केही वर्षदेखि सञ्चालन गर्दै आएको छ । विशेषगरी महिला प्रस्तोताले मात्र सञ्चालन गरेको यो बहस कार्यक्रमको यो संस्करण पहिलो भएको जनाइएको छ, जसले कार्यक्रमलाई थप समावेशी र उदाहरणीय बनाएको छ ।
दोलखामा भीमेश्वर नगरपालिका र मेलुङ गाउँपालिका गरी स्थानीय तहलाई समेट्दै यस्ता बहस कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ । स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउँदै उत्तरदायी शासन प्रवद्र्धन गर्न यस्ता संवादमूलक कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।