दोलखाको सदरमुकाम चरिकोटमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै कक्षाकोठालाई अझ प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले ४ दिने तालिम सुरु गरिएको छ । “राम्रो कक्षाकोठा, गुणस्तरीय सिकाइ” भन्ने मूल नारासहित सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न पालिकाका शिक्षकहरूको सहभागिता रहेको छ ।

तालिममा भीमेश्वर नगरपालिकाको वीरेन्द्र आधारभूत विद्यालय, मेलुङ गाउँपालिकाको सिम्टे प्राथमिक विद्यालय, तामाकोशी गाउँपालिकाको गणेश आधारभूत विद्यालय र विगु गाउँपालिकाको देउलाङखानी प्राथमिक विद्यालयका गरी ३३ जना शिक्षक सहभागी छन् । इथर बेन्जामिन्स मेमोरियल्स फाउण्डेशन दोलखाका तालिम समन्वयकर्ता नेत्र मोक्तानका अनुसार तालिमले शिक्षकहरूलाई बालमैत्री शिक्षण विधि, सहभागितामूलक सिकाइ र कक्षाकोठा व्यवस्थापनका सीप विकासमा सहयोग पु¥याउनेछ ।
तालिमको उद्घाटन सत्र इथर बेन्जामिन्स मेमोरियल्स फाउण्डेशनका कार्यकारी निर्देशक आत्मराम थापाको अध्यक्षता तथा मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल र गैरसरकारी संस्था महासंघ दोलखाका सचिव श्याम कुमार दाहालले बालमैत्री शिक्षाको आवश्यकता र यसको प्रभावबारे धारणा व्यक्त गर्नुभएको थियो ।
चाइल्ड रेस्क्यू नेपालको सहयोगमा सञ्चालन भइरहेको यस तालिमले शिक्षकहरूलाई केवल पाठ्यपुस्तकमै सीमित नराखी व्यवहारिक, सिर्जनात्मक र विद्यार्थी केन्द्रित शिक्षण पद्धतितर्फ उन्मुख गराउने लक्ष्य लिएको छ । बालमैत्री शिक्षा भन्नाले बालबालिकाको रुचि, क्षमता र मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राखी उनीहरूलाई सुरक्षित, समावेशी र प्रेरणादायी वातावरणमा सिकाइ गराउने प्रक्रिया हो । यसले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
कार्यकारी निर्देशक आत्मराम थापाका अनुसार आगामी दिनमा दोलखाका थप दुई विद्यालयमा भौतिक संरचना सुधार र शैक्षिक सामग्री सहयोग गर्ने योजना पनि अघि बढाइएको छ । “बालबालिकालाई विद्यालयमा टिकाइराख्नका लागि सुरक्षित र आकर्षक भौतिक संरचना, पर्याप्त शैक्षिक सामग्री र बालमैत्री वातावरण अपरिहार्य हुन्छ,” उहाँले भन्नुभयो ।
यस प्रकारका तालिमले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्नुका साथै विद्यालय शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिम प्रशिक्षकद्धय कटक सिजापती र सरस्वती कटुवालले सहजीकरण गर्नेछन् । ।