दोलखाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट बहुमुखी क्याम्पस स्थापना भएको १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । विभिन्न चुनौती र उतारचढाव पार गर्दै क्याम्पसले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको हो ।

वर्षगाँठको अवसरमा क्याम्पसको स्थापना, विकास र सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा क्याम्पस सञ्चालक समितिका संस्थापक तथा पूर्व÷वर्तमान सदस्यहरू कृष्णबहादुर गौतम, राकेश श्रेष्ठ, मोहन थापा, चोकबहादुर दाहाल र श्यामकृष्ण श्रेष्ठ रहेका छन् ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष तथा भीमेश्वर नगरपालिका–३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा क्याम्पस प्रमुख नवराज न्यौपानेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत १५ वर्षमा हासिल भएका उपलब्धि, शैक्षिक गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा क्याम्पसलाई जिल्लाकै उत्कृष्ट, गुणस्तरीय र सुविधासम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा वक्ताहरूले चरिकोट बहुमुखी क्याम्पसले दोलखामा उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा थप गुणस्तरीय शिक्षा प्रदान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।