दोलखामा आयुर्वेद उपचार पद्धतिप्रति जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित आयुर्वेद स्वास्थ्यकर्मी तथा विद्यालय नर्सहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरिकोटको आयोजना तथा जनस्वास्थ्य कार्यालय दोलखाको सहकार्यमा सञ्चालन गरिएको तालिम आज सदरमुकाम चरिकोटमा एक समारोहबीच उदघाटन गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका कविराज विमल कुमार श्रेष्ठले आधुनिक जीवनशैलीसँगै बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याको समाधानमा आयुर्वेद उपचार पद्धति प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले सेवाग्राहीमा आयुर्वेदप्रतिको विश्वास अझ मजबुत बनाउन स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार तालिममा जिल्लाका विभिन्न आयुर्वेद संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा विद्यालयमा कार्यरत नर्सहरुको सहभागिता रहेको छ । तालिममार्फत आयुर्वेद उपचार सेवा, स्वस्थ जीवनशैली, पोषण, योग, मानसिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिसम्बन्धी विषयमा जानकारी दिइनेछ ।
कार्यक्रममा वक्ताहरुले पछिल्लो समय मानिसहरु दीर्घरोग, तनाव र अस्वस्थ जीवनशैलीका कारण प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतितर्फ आकर्षित हुन थालेको उल्लेख गर्दै आयुर्वेद सेवाको प्रभावकारी प्रचार–प्रसार, गुणस्तरीय सेवा र सहज पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका थिए ।
विशेषगरी गाउँस्तरमै स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमार्फत योग तथा स्वस्थ जीवनशैली शिक्षा प्रवद्र्धन गर्ने, जडीबुटी तथा घरेलु उपचारबारे जनचेतना फैलाउने र बिरामीमैत्री सेवा प्रवाह गर्न सके आयुर्वेदप्रति जनआकर्षण अझ बढ्ने सहभागीहरुको धारणा थियो ।
तालिम उदघाटन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरिकोट र जनस्वास्थ्य कार्यालय दोलखाको सहकार्यमा आयोजना गरिएको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतको अध्यक्षता तथा दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटका प्रमुख डाक्टर अच्यूत पौडेल र जनस्वास्थ्य कार्यालय दोलखाका निमित्त कार्यालय प्रमुख भुवनराज रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।