भीमेश्वर नगरपालिका–५ माटीस्थित महेन्द्रोदय माध्यमिक विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

राजनीतिक तथा समाजसेवी शंकरलाल श्रेष्ठ र उहाँकी धर्मपत्नी दुर्गा श्रेष्ठले स्वर्गीय आमा–बुबाको स्मृतिमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । दम्पतीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी भुजेललाई संयुक्त रूपमा चेक हस्तान्तरण गर्दै कोषमार्फत विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक विकास, सिकाइ उपलब्धि र अध्ययनप्रतिको रुचि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समाजसेवी श्रेष्ठले आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो । “विद्यालयमा अध्ययनरत जेहेन्दार, अनुशासित तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई प्रोत्साहन गर्न कोष उपयोग होस् भन्ने चाहना हो,” उहाँले भन्नुभयो ।
विद्यालयले पनि अक्षयकोषलाई दीर्घकालीन शैक्षिक सहयोगको महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ । विद्यालय प्रशासनका अनुसार कोषबाट प्राप्त ब्याज रकम विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री सहयोग, उत्कृष्ट विद्यार्थी सम्मान तथा अतिरिक्त सिकाइ गतिविधिमा खर्च गरिनेछ । यसले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै नियमित अध्ययन र विद्यालयप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयमा स्थापना हुने यस्ता अक्षयकोषले विद्यार्थीको पढाइ निरन्तरता, नतिजा सुधार र विद्यालयसँग अभिभावकको अपनत्व बढाउन सकारात्मक भूमिका खेल्दै आएका छन् । विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई यस्ता कोषले ठूलो हौसला प्रदान गर्ने शिक्षाकर्मीहरूको भनाइ छ ।
अक्षयकोष हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, समाजसेवी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।