दोलखाको चरिकोट बजार क्षेत्रमा आयोजित प्लास्टिकजन्य फोहोर संकलन (ट्र्यास रन) प्रतियोगितामा द राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थी सुमित सुवेदी प्रथम भएका छन् ।
बढ्दो प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै वातावरण संरक्षणप्रति विद्यार्थी र समुदायलाई सचेत गराउने उद्देश्यले डिभिजन वन कार्यालय दोलखाको सहयोग तथा ग्लोबल ह्यान्ड्स नेपाल दोलखाको आयोजनामा ‘एक जिल्ला, एक वडा प्लास्टिकमुक्त अभियान’ अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो ।
ग्लोबल ह्यान्ड्स नेपाल दोलखाका अध्यक्ष राजकुमार ढुंगेलका अनुसार समुदायमा बढ्दै गएको प्लास्टिकजन्य फोहोरको अवस्थाबारे प्रत्यक्ष जानकारी गराउँदै यसको व्यवस्थापनमा विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले विद्यालयस्तरीय ट्र्यास रन कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा भीमेश्वर नगरपालिका–३ र ६ का सामुदायिक तथा संस्थागत विद्यालयका ३९ जना विद्यार्थी सहभागी भएका थिए । उनीहरूले चरिकोट बजार क्षेत्रबाट २०८ केजी प्लास्टिकजन्य फोहोर संकलन गरेका थिए ।
प्रतियोगितामा सुमित सुवेदी प्रथम, कालिञ्चोक माध्यमिक विद्यालयकी एलिसा दराई द्वितीय, सोही विद्यालयका इन्सान मगर तृतीय तथा पूजना अधिकारी सान्त्वना भएका थिए । कार्यक्रम ग्लोबल ह्यान्ड्स नेपाल दोलखाका अध्यक्ष राजकुमार ढुंगेलको अध्यक्षता तथा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, वातावरण संरक्षण तथा समुदायमा स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।