राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत दोलखा जिल्लाको आर्थिक प्रतिष्ठान गणना सम्पन्न भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा आर्थिक प्रतिष्ठानको संख्या बढ्दै गएको र स्थानीय अर्थतन्त्रमा सूक्ष्म तथा साना उद्यमहरूको उल्लेखनीय योगदान रहेको देखिएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय, दोलखाका अनुसार जिल्लाका ६ हजार १६७ भवनमा ७ हजार ९ सय ६७ आर्थिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती प्रतिष्ठानमा कुल ३१ हजार ३७४ जना कर्मचारी तथा व्यवसायी संलग्न छन् । यसमध्ये ५४.३ प्रतिशत पुरुष र ४५.७ प्रतिशत महिला रहेका छन् ।
तथ्याङ्कअनुसार प्रत्येक प्रतिष्ठानमा औसत ३.९४ जना संलग्न रहेकाले दोलखाको आर्थिक संरचना मुख्यतः सूक्ष्म तथा साना उद्यम, पारिवारिक व्यवसाय र साना व्यापारमा आधारित रहेको देखिएको छ । स्थानीय तहगत रूपमा भीमेश्वर नगरपालिका आर्थिक गतिविधिको प्रमुख केन्द्र बनेको छ । यहाँ २ हजार ५७४ प्रतिष्ठान सञ्चालनमा रहेका छन् भने ९ हजार ३५६ जना कर्मचारी तथा व्यवसायी संलग्न छन् । कालिन्चोक गाउँपालिकामा १ हजार ४९, बैतेश्वर गाउँपालिकामा ८०७ र गौरीशंकर गाउँपालिकामा ६०४ प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।
आर्थिक गणना–२०७५ को तुलनामा दोलखामा प्रतिष्ठानको संख्या ६ हजार ७५८ बाट बढेर ७ हजार ९६७ पुगेको छ, जुन १७.८९ प्रतिशत वृद्धि हो । स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिकामा सबैभन्दा बढी ३७.७१ प्रतिशत वृद्धि भएको छ भने भीमेश्वर नगरपालिकामा ५७६ नयाँ प्रतिष्ठान थपिएका छन् ।
जिल्ला आर्थिक गणना कार्यालयले गणनाका क्रममा स्थानीय तह, उद्योग–वाणिज्य संघ, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा अन्य सरोकारवालासँग समन्वय गरी कार्य सम्पन्न गरेको जनाएको छ । सङ्कलित तथ्याङ्कको विस्तृत विश्लेषणपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तिम नतिजा सार्वजनिक गर्ने जिल्ला आर्थिक गणना कार्यालय दोलखाका जिल्ला आर्थिक गणना अधिकारी पवन मिजारले जानकारी दिनुभयो ।