नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवस दोलखाको चरिकोटमा विविध कार्यक्रम गरी मनाइएको छ । आदिवासी जनजाति पत्रकारहरूको साझा संस्था फोनिजले २७ वर्ष पूरा गरेको अवसरमा स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको हो ।
स्थापना दिवसको अवसरमा विगु गाउँपालिकामा अवस्थित ऐतिहासिक थलो थोबोडाँडा (१२ सय पल्टन) सम्बन्धी डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण थोबोडाँडाको संरक्षण, प्रवद्र्धन र विकासका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन गरिएको फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रीनले जानकारी दिनुभयो । थोबोडाँडा आदिवासी जनजाति समुदाय र स्थानीय भूगोलसँग समेत प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण ऐतिहासिक थलो भएकाले यसको पहिचान र प्रचारप्रसार आवश्यक रहेको अध्यक्ष पाख्रीनले बताउनुभयो। उहाँका अनुसार डकुमेन्ट्रीमार्फत थोबोडाँडाको ऐतिहासिक तथा पर्यटकीय महत्वलाई व्यापक रूपमा चिनाउने प्रयास गरिएको हो ।
स्थापना दिवसकै अवसरमा फोनिज दोलखाका पूर्वअध्यक्ष सुवास योञ्जनलाई ‘फोनिज पत्रकारिता सम्मान, दोलखा–२०८३’ बाट सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा तथा आदिवासी जनजाति पत्रकारहरूको हक, हित र अधिकारका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै योञ्जनलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको अध्यक्ष पाख्रीनले जानकारी दिनुभयो । योञ्जन हाल काठमाडौँलाई कार्यक्षेत्र बनाएर क्यापिटल अनलाइन तथा म्यागजिन पत्रिकामा कार्यरत हुनुहुन्छ ।

फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रीनको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य उर्मिला सुनुवारको प्रमुख आतिथ्यतामा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, विगु गाउँपालिका उपाध्यक्ष देविका थामी, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, अग्रज पत्रकार शम्भु गौतमलगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी पत्रकारहरू सुजन काफ्ले, श्रृजन कुमार घिमिरे, अविरल बस्नेत, जीवन लामा, शान्तकृष्ण श्रेष्ठ, राजन बस्नेत र राजकुमार भुजेलले समेत कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।