३१ औँ सामुदायिक वन दिवसको अवसरमा दोलखाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूह पुरस्कृत भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा दोलखा र डिभिजन वन कार्यालय दोलखाको संयुक्त आयोजनामा उत्कृष्ट वन समूहलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

सामुदायिक वनतर्फ कालिञ्चोक गाउँपालिका–९ मा रहेको छरछरेपाखा सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ । प्रथम हुने समूहलाई नगद १६ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी मेलुङ गाउँपालिका–४ को सरङ्गथली सोलुथुम सामुदायिक वन उपभोक्ता समूह दोस्रो र शैलुङ गाउँपालिका–३ को जुङ्गेदार्खा सामुदायिक वन उपभोक्ता समूह तेस्रो भएको छ । दोस्रो हुने समूहलाई ११ हजार र तेस्रो हुने समूहलाई ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासंघ दोलखाकी सचिव सविना भण्डारी आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै, कबुलियती वनतर्फ गौरीशंकर गाउँपालिका–३ को तारेभीर कबुलियती वन समूह प्रथम, तामाकोशी गाउँपालिका–४ को ओढारेको पाखा कबुलियती वन समूह दोस्रो र शैलुङ गाउँपालिका–५ को सेतीदेवी वन समूह तेस्रो भएका छन् । उनीहरूलाई पनि नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको सचिव भण्डारी आचार्यले बताउनुभयो ।
वन क्षेत्र विस्तार हुँदै गएको अवस्थामा वनको संरक्षणसँगै उपभोक्ताले त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा समेत कार्यक्रममा छलफल गरिएको थियो । सामुदायिक तथा कबुलियती वनबाट उपभोक्ताले वास्तविक रूपमा लाभ लिन पाएका छन् कि छैनन्, वनको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ र वन स्रोतको उपयोगलाई प्रभावकारी बनाउने उपाय के हुन सक्छन् भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी उपभोक्ताहरूले वनको उपयोगिता, वन व्यवस्थापन तथा संरक्षणमा उपभोक्ता समूहले निर्वाह गर्दै आएको भूमिकाबारे जिज्ञासा राखेका थिए । वन संरक्षणका नाममा उपभोक्तालाई उपयोगबाट वञ्चित गर्न नहुने र संरक्षणसँगै स्थानीयको आवश्यकता तथा जीविकोपार्जनलाई समेत जोड्नुपर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगनाथ बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङ, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, मेलुङ गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमले वन संरक्षणमा योगदान पु¥याउँदै आएका उपभोक्ता समूहलाई प्रोत्साहन गर्नुका साथै वन संरक्षण, व्यवस्थापन र उपयोगबीच सन्तुलन कायम गर्दै स्थानीय उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।