भीमेश्वर नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५१६ जना नागरिकले सेवा लिएका छन् । गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई नागरिकलाई सामान्य स्वास्थ्य परीक्षण तथा उपचारका लागि टाढा–टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

शिविरमा बालरोग, फिजियोथेरापी, दन्त, भिडियो एक्सरे, स्त्रीरोग, हाडजोर्नी, छाला रोग तथा जनरल ओपीडीसहित विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । शिविरमा हाडजोर्नीसम्बन्धी समस्या भएका १६६ जना, जनरल ओपीडीमा ३५० जना, स्त्रीरोगमा १०९ जना, फिजियोथेरापीमा १०७ जना, भिडियो एक्सरेमा १०२ जना, छालारोगमा ५९ जना, दन्त सेवामा ५३ जना र बालरोगसम्बन्धी सेवा ४१ जनाले लिएका छन् । त्यस्तै २२ जनाको भिआइए परीक्षण गरिएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा २१ जनालाई थप उपचार तथा अप्रेसन आवश्यक देखिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो । भिआइए परीक्षण गराएका मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो ।
शिविरमा एकै ठाउँमा विभिन्न रोगको परीक्षण तथा परामर्श पाउने भएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच भएको छ । विशेषगरी हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, दाँत, छाला तथा अन्य स्वास्थ्य समस्याका लागि सदरमुकाम वा अन्य अस्पतालसम्म पुगेर उपचार गराउनुपर्ने नागरिकको बाध्यता केही हदसम्म कम भएको छ । महँगो उपचार शुल्कसँगै यातायात तथा बसाइको खर्चसमेत व्यहोर्नुपर्ने अवस्थामा वडामै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय नागरिकलाई आर्थिक रूपमा समेत राहत पुगेको छ ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै भिडियो एक्सरे तथा भिआइए जस्ता परीक्षणसमेत निःशुल्क उपलब्ध गराइएकाले नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन पाएका छन् । परीक्षणका क्रममा थप उपचार वा शल्यक्रिया आवश्यक पर्ने बिरामी पहिचान हुनु शिविरको महत्वपूर्ण उपलब्धि भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
भीमेश्वर नगरपालिका–७ वडा कार्यालय र लियो क्लब धुलिखेलको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा धुलिखेल अस्पताल दोलखा र लेक हेड एजुकेसन काठमाडौंले सहयोग गरेका थिए ।
वडा कार्यालयले नागरिककै नजिक सरकारको अनुभूति गराउने उद्देश्यले नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक, महिला तथा गाउँमै बसेर स्वास्थ्य सेवा लिन चाहने नागरिकका लागि यस्ता शिविर प्रभावकारी बन्दै गएका छन् ।