भीमेश्वर नगरपालिका–७ का नागरिक विभिन्न कामको सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका छन् । गाउँमा रहेको वडा कार्यालयबाट सेवा लिन पटक–पटक दोलखा धाउनुपर्ने बाध्यता रहेका नागरिकलाई सहज बनाउन वडा कार्यालयले काठमाडौंमै पुगेर सेवा प्रवाह गरेको छ ।

भीमेश्वर नगरपालिका–७ वडा कार्यालयले काठमाडौंमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरणलगायत वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा काठमाडौंमै पुगेर दिएको हो । वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको टोलीले दुई दिनसम्म काठमाडौंमा रहेर नागरिकलाई सेवा प्रदान गरेको थियो ।
नागरिकलाई सेवा लिन काठमाडौबाट दोलखासम्म बोलाउने मात्र नभई नागरिक बसेकै ठाउँमा पुगेर सेवा दिने उद्देश्यले काठमाडौंमा सेवा प्रवाह गरिएको वडा कार्यालयले जनाएको छ । विशेषगरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सामान्य कामका लागि समेत लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले वडा कार्यालयले यस्तो सेवा सञ्चालन गरेको हो ।
वडा कार्यालय नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकको सुख–दुःखमा साथ दिनु आफ्नो जिम्मेवारी भएको भीमेश्वर नगरपालिका–७ का वडाध्यक्ष विनोद तामाङले बताउनुभयो । उहाँका अनुसार यस वडाका धेरै नागरिक काम विशेषले काठमाडौंमा बस्दै आएका छन् । उनीहरूलाई वडा कार्यालयबाट प्राप्त हुने सेवा लिनकै लागि दोलखा आउनुपर्ने अवस्था अन्त्य गर्न वर्षेनी काठमाडौंमै पुगेर सेवा दिने गरिएको हो ।
“नागरिक वडा कार्यालयमा आउन नसक्ने अवस्था भए वडा कार्यालय नै नागरिकको घरदैलोमा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” वडाध्यक्ष तामाङले भन्नुभयो, “विशेषगरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्राथमिकतामा राखेर सेवा दिनुपर्ने भएकाले उनीहरूलाई सहज हुने गरी काठमाडौंमै पुगेर सेवा दिएका हौँ ।”
वडा कार्यालयका अनुसार काठमाडौंमा रहेका नागरिकलाई सेवा दिने क्रममा सामाजिक सुरक्षा भत्ता नवीकरण, आवश्यक सिफारिसलगायत वडा कार्यालयबाट उपलब्ध हुने विभिन्न सेवा प्रदान गरिएको थियो । वडा कार्यालयको सम्पर्कमा रहेका काठमाडौंमा बसोबास गर्ने नागरिकलाई पूर्वजानकारी गराएर सेवा केन्द्रसम्म बोलाइएको थियो ।
दुई दिनको अवधिमा अधिकांश नागरिकको आवश्यक काम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । सम्पर्कमा नआई छुटेका नागरिकलाई भने वडा कार्यालयमै उपस्थित भएर सेवा लिन अनुरोध गरिएको छ ।