दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । होटल तथा पर्यटन व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको संघले विशेष कार्यक्रम आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाको अवसरमा संघको स्थापना, संस्थागत विकास तथा व्यवसायीहरूको हितमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ । संघका महासचिव पदम (कुमार) बस्नेतका अनुसार उत्कृष्ट होटल व्यवसायीका रूपमा होटल न्यू रयाडिसन तथा होटल किङ्सका सञ्चालक शंकर बस्नेत, संघका संस्थापक सदस्य तुलसीबहादुर बुढाथोकी र पुष्पलाल कायस्थलाई सम्मान गरिएको हो ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले दोलखाको पर्यटन विकासका लागि नगरपालिकाले विभिन्न महत्वपूर्ण काम अघि बढाइरहेको बताउनुभयो । उहाँले दोलखालाई देशकै पहिलो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा आफू लागेको बताउँदै त्यसका लागि होटल तथा पर्यटन व्यवसायीहरूको सक्रिय साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख मानन्धरले पर्यटन क्षेत्रको विकाससँगै स्थानीय व्यवसायीको आर्थिक गतिविधि विस्तार हुने भएकाले नगरपालिकाको पर्यटन प्रवद्र्धन अभियानमा व्यवसायीहरूलाई सहकार्य गर्न आग्रह गर्नुभयो ।
साधारणसभामा संघका महासचिव पदम (कुमार) बस्नेतले संघको योजना तथा गतिविधिसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सागर प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विनोद जिरेल, होटल एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष नेत्रविक्रम थापा, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका सदस्य होमबहादुर श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष सुरेश बराल तथा वातावरणविद् पीके शेर्पालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले जिल्लाको पर्यटन प्रवद्र्धन, होटल तथा पर्यटन व्यवसायीहरूको व्यावसायिक हित र पर्यटन क्षेत्रलाई थप व्यवस्थित तथा गतिशील बनाउने विषयमा समेत छलफल गरेको संघले जनाएको छ ।