जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाले आज सदरमुकाम चरिकोटमा आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुने मतदाता नामावली अद्यावधिक कार्यक्रमबारे जानकारी दिएको हो ।
जिल्ला निर्वाचन अधिकारी दिल कृष्ण श्रेष्ठले मतदाता नामावलीमा आफ्नो विवरण जाँच गरी आवश्यक परे सच्याउन सबै मतदातालाई आग्रह गर्नुभएको छ । मतदाता नामावलीमा नाम, थर, उमेर, ठेगानालगायतका विवरणमा त्रुटि भए सच्याउन निवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले असोज १ गते आफ्नो वेबसाइटमार्फत मतदाता नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावलीमा रहेको त्रुटि सच्याउन, एउटाभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र कायम गर्न तथा मृत्यु भएका वा नेपाली नागरिकता त्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
त्यस्तै, बसाइँ सरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारी तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने र आवश्यक प्रमाणका आधारमा अद्यावधिक गर्ने व्यवस्था गरिएको छ । उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने कार्यक्रमसमेत रहेको कार्यालयले जनाएको छ ।
मतदाता नामावली अद्यावधिकका क्रममा प्राप्त निवेदन तथा उजुरीमाथि आवश्यक छानबिन गरी प्रमुख नाम दर्ता अधिकारीबाट निर्णय गरिने र फरक जिल्लामा दोहोरो नाम परेको भए सम्बन्धित जिल्लासँग समन्वय गरी विवरण अद्यावधिक गरिने जनाइएको छ । कार्यालयका अनुसार असोज २० देखि २६ गतेसम्म दोहोरो नाम परेका मतदाताको विवरण तयार गरी निर्वाचन कार्यालय तथा वडा कार्यालयमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । अद्यावधिक प्रक्रिया पूरा गरेपछि असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले अन्तिम नामावली प्रकाशन हुनुअघि नै सबै मतदाताले आफ्नो नाम र विवरण जाँच गरी त्रुटि भए सच्याउन आग्रह गर्नुभएको छ । मतदाता नामावली निर्वाचन आयोगको वेबसाइट तथा सम्बन्धित निर्वाचन कार्यालयबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।