गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणका विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा संरक्षण क्षेत्रले हालसम्म गरेका गतिविधि, उपलब्धि र आगामी रणनीतिका विषयमा पत्रकारहरूसँग छलफल गरिएको हो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना र नेपाल पत्रकार महासंघ दोलखाको समन्वयमा आयोजित कार्यक्रममा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका करिब ४० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले संरक्षण क्षेत्र स्थापनाको १६ वर्षको अवधिमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र कला–संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार संरक्षण क्षेत्रले नर्सरी स्थापना, सिँचाइ, नगदेबाली प्रवद्र्धन, मौरीपालन, पर्यटकीय पदमार्ग निर्माण तथा सरसफाइ, जलवायु परिवर्तनसम्बन्धी जनचेतना, विपद् व्यवस्थापन, अध्ययन–अनुसन्धान तथा संरक्षणसम्बन्धी तालिम, गोष्ठी र अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संरक्षण क्षेत्र स्थापना भएको असोज ७ गतेलाई समेत विशेष रूपमा मनाउँदै आएको उहाँले बताउनुभयो ।

स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउनेदेखि पर्यटन र वातावरण संरक्षणसम्मका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भए पनि अपेक्षाअनुसार सबै काम गर्न नसकिएको प्रमुख शेरचनले बताउनुभयो । आगामी दिनमा जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय समुदायसँग थप समन्वय तथा सहकार्य गरेर संरक्षणका गतिविधिलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ ।
कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजना सिन्धुपाल्चोकका प्रमुख प्रवेश पौडेलले वन्यजन्तु र मानवबीचको सम्बन्धका विषयमा जानकारी गराउनुभयो । वन्यजन्तुलाई आक्रमण र क्षतिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति रहेको भन्दै उहाँले वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा स्थानीय समुदायको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।
वन्यजन्तु संरक्षण, अपराध नियन्त्रण तथा मानव–वन्यजन्तु सहअस्तित्वका विषयमा सञ्चारमाध्यममार्फत नागरिकलाई थप सचेत बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा बताइएको थियो ।