राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले संगठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय, नौवटै स्थानीय तहका संयोजक, दुई विभाग तथा जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ । रास्वपाको जिल्ला समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीको विभाग सञ्चालन नियमावली, २०८३ बमोजिम गरिएको निर्णयले जिल्ला संगठनको जिम्मेवारी बाँडफाँट गरेको हो । जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई स्थानीय तहमा समन्वय र सहजीकरणको जिम्मेवारीसमेत दिइएको छ ।
पार्टीले भीमेश्वर नगरपालिकाको संयोजकमा जिल्ला सभापति दिनेश बस्नेतलाई तोकेको छ । मेलुङमा उपसभापति कृष्णबहादुर खड्का, बैतेश्वरमा सचिव रमेशकुमार श्रेष्ठ र तामाकोशीमा सहसचिव अर्जुन कार्कीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, जिरी नगरपालिकामा कोषाध्यक्ष प्रभा खाती गिमिरे, बिगुमा जिल्ला सदस्य ओमकृष्ण आचार्य, कालिञ्चोकमा प्रजिना थापा, शैलुङमा चिरञ्जीवी खरेल र गौरीशंकरमा सुनिता पाण्डे संयोजक तोकिएका छन् । पालिका अध्यक्षहरूलाई पार्टी संगठन विस्तार र गतिविधिमा सहयोग पुग्ने गरि यस्तो व्यवस्था गरेको सचिव रमेशकुमार श्रेष्ठले बताउनुुभयो ।
संगठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकी चयन भएका छन् । विभागका सदस्यमा नवीन खत्री, इराजन पोखरेल, देवकृष्ण आचार्य र सिता गौतम रहेका छन् । त्यसैगरी अभियान तथा प्रचार विभागको इञ्चार्ज ओमकृष्ण आचार्य तोकिएका छन् । यो विभागमा हरेक स्थानीय तहबाट कम्तीमा एक जना रहने गरि ९ जनाको विभाग गठन गरिएको छ । रास्वपा दोलखाले जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ । परिषद्को अध्यक्षमा बाबुलाल लामा बैतेश्वर चयन भएका छन् ।
परिषद्का सदस्यमा पूर्णबहादुर तामाङ पूर्व जिल्ला सभापति बुद्री कटुवाल तामाकोसी, बुद्रीबहादुर खड्का जिरी, पुष्कलबहादुर कार्की गौरीशंकर, दुर्गादेवी कार्की भीमेश्वर र कमल थोकर मेलुङ रहेका छन् ।
पार्टीको निर्णयअनुसार पालिका संयोजक र विभागीय जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरूले स्थानीय तहमा संगठन विस्तार, समन्वय र पार्टीका गतिविधि सञ्चालनमा भूमिका निर्वाह गर्ने सचिव श्रेष्ठले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद जगदीश खरेल, सांसद स्मृति सेञ्चुरी, प्रदेश समिति सदस्य प्रकाश खत्रीको समेत उपस्थित रहेको थियो ।