चरिकोटमा सञ्चालित एपेक्स स्कुलले संस्कृति र मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले इन्द्रजात्रा प्रदर्शनी आयोजना गरेको छ । विद्यालयले विगत पाँच वर्षदेखि निरन्तर रूपमा इन्द्रजात्राका अवसरमा कुमारी र लाखे निकाल्ने परम्परालाई निरन्तरता दिँदै आएको हो ।
यस वर्ष भने मौसम प्रतिकूल हुने पूर्वानुमानका कारण विद्यालयमा बिदा दिने निर्णय भएकाले इन्द्रजात्राको पूर्वसन्ध्यामा बिहीबार नै रोयल मकैबरी फुटसलमा विशेष कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नसिब कायस्थले जानकारी दिनुभयो । विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति, कला र परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले हरेक वर्ष इन्द्रजात्राका अवसरमा कुमारी र लाखे प्रदर्शन गर्दै आएको छ । विद्यालयका अनुसार आधुनिक शिक्षासँगै स्थानीय संस्कृति र परम्पराको ज्ञान पनि विद्यार्थीको सिकाइको महत्वपूर्ण हिस्सा भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

यस वर्षको इन्द्रजात्रा कार्यक्रमलाई निरन्तरता दिने अवधारणा तयार पार्न मनिषा थामी, भावना थामी, रेबिका गुरुङ र सुमन उप्रेतीले पहल गर्नुभएको थियो । उहाँहरूको पहलमा प्रतिकूल मौसमका बीच पनि कार्यक्रम आयोजना गर्न सम्भव भएको प्रिन्सिपल कायस्थले बताउनुभयो ।
लाखे नाचको प्रस्तुति तथा व्यवस्थापनमा दोलखा निवासी अभिभावक तथा कक्षा १० का विद्यार्थी एलेक्स श्रेष्ठका बुबा बल गोपाल श्रेष्ठले सहयोग गर्नुभएको थियो । वाद्यवादनतर्फ शिक्षिका आरती श्रेष्ठसँगै विद्यार्थीहरू आरेशेस श्रेष्ठ, एरिज श्रेष्ठ, आयानश गिरी र इभान पटवारी सहभागी थिए । लाखेको नृत्य कक्षा १० का विद्यार्थी एलेक्स श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयले इन्द्रजात्रालाई केवल मनोरञ्जनका रूपमा नभई विद्यार्थीलाई आफ्नो संस्कृति र पहिचान बुझाउने जीवित पाठशालाका रूपमा अघि बढाएको जनाएको छ । कुमारी र लाखे किन निकालिन्छ, यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व के हो र यससँग जोडिएका परम्पराको अर्थ के हो भन्ने विषयमा विद्यार्थीलाई जानकारी गराउने तयारीसमेत विद्यालयले गरेको छ ।

यसपटक प्रतिकूल मौसमका कारण कार्यक्रमस्थलमै इन्द्रजात्राको सांस्कृतिक महत्वबारे विस्तृत रूपमा जानकारी गराउन नसकिएको प्रिन्सिपल कायस्थले बताउनुभयो । उहाँका अनुसार आगामी सोमबार बिहान हुने विद्यालयको एसेम्ब्लीमा विद्यार्थीलाई कुमारी र लाखेसहित इन्द्रजात्राको इतिहास, महत्व र सांस्कृतिक पक्षबारे जानकारी गराइनेछ ।
विद्यालयले यस्ता मौलिक पर्व र परम्परालाई विद्यालयस्तरमै अभ्यास र प्रदर्शनमार्फत नयाँ पुस्तासम्म पु¥याउन सके संस्कृति संरक्षणमा योगदान पुग्ने विश्वास लिएको छ । पुस्तकमा पढिने संस्कृति आफ्नै आँखाले देख्ने, आफैं सहभागी हुने र त्यसको अर्थ बुझ्ने अवसरले विद्यार्थीमा आफ्नो मौलिक पहिचानप्रतिको सम्बन्ध अझ बलियो बनाउने विद्यालयको उद्देश्य छ ।