दोलखाको विगु गाउँपालिका–१ लामाबगर ठाडीबासीले अलैची खेतीबाट वार्षिक १६ लाख रुपैयाँभन्दा बढी रकम गाउँमै भित्र्याउने गरेका छन् । प्रायः सबै घरधुरीले अलैचीलाई नगदे बालीका रूपमा अंगालेपछि गाउँको अर्थतन्त्रमा यसले बलियो आधार तयार गरेको छ ।
स्थानीय किसान रामबहादुर तामाङका अनुसार एक सिजनमै किसानले २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । “औपचारिक रेकर्ड त छैन, तर हिसाब गर्दा वर्षमा १६ लाखभन्दा बढी रकम अलैची बेचेरै गाउँ भित्रिन्छ,” उहाँले भन्नुभयो । उहाँ आफैंले पनि एक सिजनमा ६० केजीसम्म अलैची बिक्री गर्ने गर्नुभएको छ । यस वर्ष अलैची प्रतिकेजी २ हजार ३ सय रुपैयाँमा बिक्री भएको उहाँले जानकारी दिनुभयो । मूल्य वर्षैपिच्छे फरक–फरक हुने भए पनि यसपालिको मूल्य किसानका लागि उत्साहजनक बनेको छ ।

ठाडीका अधिकांश बासिन्दा खेतीपातीमै निर्भर छन् । रोजगारीका अवसर न्यून छन् भने शिक्षाको पहुँच पनि सीमित छ । मकै, गहुँ, कोदो र आलु मुख्य बाली भए पनि ती बालीको उत्पादन कम हुनु र बाँदरले नोक्सानी पु¥याउनु मुख्य समस्या बनेको छ । त्यसैले नगद आम्दानी सुनिश्चित हुने अलैची खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
अर्का स्थानीय रामसिंह तामाङका अनुसार अलैची किन्न व्यापारीहरू सिधै गाउँमै आउने र नगद भुक्तानी गर्ने भएकाले किसान थप उत्साहित भएका छन् । “गाउँमा युवा जनशक्ति छैन, वैदेशिक रोजगारीतर्फ गएका छन् । जनशक्ति अभावमा मेहनतिलो खेती सम्भव छैन । सजिलो र नगद कारोबार हुने भएकाले अलैची खेती रोजेका हौँ,” उहाँले बताउनुभयो ।
ठाडीमा करिब तीन सयभन्दा बढी घरधुरी छन् । सबैजसो खेतीमा निर्भर रहेकाले पछिल्लो समय वैकल्पिक र नगदे बालीका रूपमा अलैची विस्तार हुँदै गएको छ । यदि उचित प्राविधिक सहयोग, बजार सुनिश्चितता र संरक्षणका उपाय अपनाइए भने अलैची खेतीले ठाडीको आर्थिक रूपान्तरणमा अझ ठूलो योगदान पु¥याउन सक्ने स्थानीयको विश्वास छ ।