विश्वमा महामारीको रुपमा फैलियो । कोरोना लाखौको ज्यान लियो । करोडौलाई अस्पतालको बेडमा लडायो । मानसिक रुपमा लाखौलाई असर यसले पार्यो । विपन्न वर्गलाई दुई छाक टार्न नसकेर सडकमै ढल्नु पर्यो । कतिको सडकमै ज्यान गयो । दैनिकी फेरियो । आर्थिक मन्दी लाग्यो । शिक्षा, स्वास्थ्य, रोजगार, विकासमा ब्रेक लाग्यो ।
तर, कोरोनो भाइरस (कोभिड–१९) ले नकारात्मक असर मात्र पारेन । केही केही सकारात्मक विकास भएको महशुस मैले गरेको छु । चुनौती सँगसँगै अवसर पनि जोडीएको हुन्छ । भन्ने छन् नि जहाँ समस्या, त्यहाँ समाधानको उपाय पनि निस्कन्छ । हरेक वस्तुको विकल्प वैज्ञानिकहरुले आविस्कार गरेका छन् । सबै कुराको विकल्प नहोला तर, अधिकांश वस्तुको विकल्पक छ मात्र खोजी भने गर्नु पर्छ । ढिला चाँडो होला तर सबै कुराको विकल्प हुन्छ नै ।
मैले उठाउन खोजेको विषय पनि यही हो कि महामारीको बेला आन्तरिक पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ । के हाम्रा जस्ता सानो मुलुकलाई गोरा छाला भएका मात्र पर्यटक हुन ? के एक बोतल चिसो वियर, पाउरोटी खाने मात्र पर्यटक हुन ? तिनको अनुहार देख्ने बितिक्कै पर्यटन प्रवद्र्धन हुन्छ ? यही नै हो मलाई खट्केको विषय ।
चैत्र ११ गतेदेखि जब लकडाउन सुरु भयो तब मन छटपटिन थाल्यो । प्राय महिनामा एक पटक कुनै न कुनै ठाउँमा पुगेकै हुन्थे म । कतिपय ठाउँमा दोहोर्याई, तेहेराई नै पुगेको छु प्राय ठाउँहरुमा । एक हप्तासम्म मन मानेन । तर, बिस्तार, बिस्तार लकडाउनले खुकुलोपन लिदै गयो । अनि नगरपालिका भित्रका कुना कुनामा पुग्ने अवसर मिल्यो । नामै नसुनेको ठाउँहरुमा त पटक पटक पुगे । यस्ता पनि छन् र नगरपालिकामा भन्ने भयो । यसअवधिमा स्थानीय स्वयमले नसुनेका, नदेखेका ठाउँहरु देख्न थाले । स्थानीयहरु आफै छक्क पर्दै फोटो, भिडियोहरु पोष्ट गर्न थाले । त्यसलाई पछ्याउदै म पनि पछि पछि दौडिन थाले । कतिपय ठाउँहरु त शब्दमा मात्र बयान गरेर पुग्दैन । २, ३ सय शब्दले खै कसरी ब्याख्या गरु र ?
अरुबेला महिनामा एक पटक घुम्थे । पुगेकै ठाउँ त हो नि भन्थे । मसँग फोटो छ भन्थे । तर, लकडाउनले मन मानेन । कमसेकम ४, ५ पटक एकै थलोमा पुग्नु पर्छ भन्ने मेरो मनमा जाग्यो । समय, परिस्थिति र मौसम अनुसार प्रकृतिले पनि रुप फेर्छ भन्ने बुझाई भयो । हिजोको दिनमा खोला भनेर हेला गर्थे, अहिले झरना, छहरा हुन थाल्यो । पानी जमेको देख्थे दैखियो, अहिले पोखरी, तालको रुपमा बुझ्न थाले । हिजोको दिनका जंगल, चौर, बाटोहरु अहिले पार्क, हाईकिङमा परिणत भयो । ढुंगाहरु स्टोन देख्न थाले । यसरी एकाएक मनहरु, नजरहरु परिवर्तन हुन थाल्यो लकडाउनले । यहीनै सकारात्मक परिवर्तन हो । यही हाम्रा दृष्टिहरु परिवर्तन भएको महशुस मैले गरेको छु । मौसम, ठाउँ र परिवेशहरु बेलाबेलामा परिवर्तन भईरहदो रहेछ । तर, दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने रहेछ । नेपाल सरकारले हप्तामा २ दिन विदा दिने तयारी गरेको छ । लकडाउनले घुम्नुपर्छ । हिड्दा स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा छ भन्ने कुरा अहिले लकडाउनमा मान्छेको चापले प्रष्टाउछ । धेरै व्यापारीहरु, विद्यार्थी, शिक्षक, राजनीतिकर्मी सबै घुम्न थालेका छन् ।
मैले पनि नसुनेका, नदेखेका धेरै ठाउँहरु यस अवधिमा घुमेको छु । धेरै नयाँ नयाँ फोटोहरु कैद गरेको छु । यस अवधिको घुमघामले बाह्यपर्यटक भन्दा पनि आन्तरिक पर्यटकलाई पर्याप्त मात्रमा घुम्ने वातावरण सिर्जना गर्न सकेमा आर्थिक पाटो बलियो हुन्छ भन्ने लाग्छ । हामी अहिले अलि बढी आत्तिएका छौं अब के हुन्छ के हुन्छ भनेर । तर, हप्तामा एकपटक नगरपालिका भित्र रहेका ठाउँहरु अवलोकन गर्ने हो भने आर्थिक, भौतिक, सामाजिक र विकासको हिसाबले पनि हिजोकै रफ्तारमा अगाडि बढ्न सकिन्छ भन्ने विश्वास लाग्यो ।
मनमा एक चिम्टी पनि आत्म विश्वास घटेको छैन । धेरै सम्भावनाहरु नगरपालिकाभित्र छन् । यसको प्रचार प्रसार र व्यवस्थापन गर्न सकेमा विकासले फड्को मार्छ नै । नगरपालिकाभित्र १,२ दिन मात्र होइन, हप्तौसम्मको टुर प्याकेज बनाउन सकिन्छ । यहाँ पार्ट पार्टमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ता, अध्ययनकर्ताहरु जिल्ला भित्रिन सक्छन् । थामी, सुरेल, जिरेलको बारेमा थेसिस गर्नेहरु प्राय विदेशी छन् । तर, नेपालीहरुलाईनै यसको अध्ययनको लागि प्रस्ताव गर्न सकिन्छ । नगरपालिका लगायत जिल्लाको समग्र विकासमा पर्यटनको ठूलो महत्व छ ।
अहिलेसम्म कुनै पालिकाले प्राथमिकीकरण गर्न सकेका छैनन पर्यटनलाई । हामी हिरामाथि सुतेर हिराको खोजीमा छौ । तसर्थ पर्यटननै मुख्य आयस्रोत हो है भन्ने म्यासेज सर्वत्र छर्किन आवश्यकता छ । नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्यझैं दोलखामा पनि आन्तरिक तथा बाह्यपर्यटक गरी १० लाख भित्राउनको लागि विभिन्न गतिविधिहरु सुरु गरेकै हो । अब यसलाई निरन्तरता दिनको लागि गन्तव्यहरु पहिचान गर्न आवश्यक छ । टुर प्याकेजहरु तयार पार्न आवश्यक छ । अनि मात्र थिलथिल परेको अर्थतन्त्र र वेरोजगार भएका युवाहरुलाई माथि उकास्न सकिन्छ ।