कालिञ्चोक गाउँपालिकाले कार्यसम्पादन गरेका विकास निर्माणको बारेमा जानकारी दिने उद्धेश्यले लागि सार्वजनिक सुनुवाइ आयोजना गरिएको छ । आर्थिक वर्ष ०८०/८१ मा फागुन १५ गतेसम्मको आय व्यय विवरण सार्वजनिकरण तथा योजनाको प्रभावकारिताको बारेमा आम नागरिकलाई अवगत गराउन सार्वजनिक सुनुवाई गरिएको हो ।
८ महिनाको अवधिमा गाउँपालिकाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा योजना निर्माण र बजेट विनियोजन गरिएका थिए । सोहीअनुसार गाउँपालिकाको ९ वटै वडामा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा कार्य गर्दै आएको सार्वजनिक सुनुवाइमा जानकारी दिएका थिए ।
कालिञ्चोक गाउँपालिका वडा नं. ३ सिंगटीमा आयोजित सार्वजनिक सुनुवाइ गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको अध्यक्षतामा भएको थियो । कालिञ्चोक गाउँपालिकाको आयोजना तथा रेडियो भीमेश्वर र भीमेश्वर साप्ताहिकको सहकार्यमा भएको कार्यक्रममा गाउँपालिकाले ८ महिनाको अवधिमा सम्पादन गरेका विकास र पालिकाको पूर्ण विवरणको बारेमा कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।
त्यस्तै नागरिकले सोधिएका प्रश्न तथा जिज्ञासाको बारेमा गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले जवाफ दिनुभएको थियो । कार्यक्रममा वडाअध्यक्षहरु कार्यालयका विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाइमा मोतीलाल शिवाकोटी, राजन प्रसाद शिवाकोटी, निशान बुढाथोकी, पुष्पराज शिवाकोटी, महेश श्रेष्ठ, दिनेश शिवाकोटी र राजेन्द्र खड्का लगायतले प्रश्न सोधिएका थिए ।
कार्यक्रम रेडियो भीमेश्वरका स्टेशन म्यानेजर गोकर्ण प्रसाद भण्डारीले सहजीकरण गरेका थिए ।