कालिञ्चोक गाउँपालिका–६, लापिलाङस्थित गुजर्पा आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ । स्कुल अफ डेमोक्रेसीको पहलमा विद्यालयका ९६ जना विद्यार्थीलाई ट्रयाकसुटसँगै आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराइएको हो ।

विद्यालयमा अध्ययनरत करिब ९० प्रतिशत विद्यार्थी थामी समुदायका हुन् । आर्थिक अवस्था कमजोर भएका धेरै विद्यार्थीका लागि विद्यालय पोशाक र शैक्षिक सामग्री जुटाउन कठिन हुने भएकाले विभिन निकायले गरिएको सहयोगले उनीहरूको नियमित अध्ययनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष तथा समाजसेवी प्रभुराम श्रेष्ठले विद्यालय पोशाक र शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँले आवश्यक शैक्षिक सामग्री उपलब्ध हुँदा विद्यार्थीको आत्मविश्वास बढ्नुका साथै विद्यालयप्रतिको आकर्षण पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “स्टेशनरी र विद्यालय पोशाक किन्न नसक्दा कतिपय विद्यार्थीको पढाइ प्रभावित हुने र विद्यालय छाड्ने अवस्था समेत आउने गरेको छ,“ उहाँले भन्नुभयो, “यस्ता बालबालिकाले आर्थिक अभावका कारण शिक्षा छाड्न नपरोस् भन्ने हाम्रो चाहना हो ।“

समाजसेवी श्रेष्ठले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको छ । पत्रकार गोकर्ण प्रसाद भण्डारीले अन्य विद्यालयको तुलनामा गुजर्पा आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोगको आवश्यकता बढी रहेको बताउनुभयो । आफूले आधारभूत शिक्षा यही विद्यालयबाट हासिल गरेको स्मरण गर्दै उहाँले विद्यालयप्रतिको अपनत्वकै कारण विभिन्न सहयोगी संस्था र व्यक्तिसँग समन्वय गरी शैक्षिक सहयोग जुटाउने प्रयास गर्दै आएको जानकारी दिनुभयो । पत्रकार भण्डारीका अनुसार स्कुल अफ डेमोक्रेसीमार्फत करिब दुई लाख रुपैयाँ बराबरको ट्रयाकसुट तथा शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वक्ताहरूले विद्यालय पोशाक र शैक्षिक सामग्रीले विद्यार्थीमा पढाइप्रति उत्साह बढाउनुका साथै अभिभावकमाथिको आर्थिक भारसमेत केही हदसम्म कम भएको बताएका थिए । उनीहरूले यस्ता सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नियमित विद्यालय आउन प्रेरणा मिल्ने र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीको अध्यक्षतामा तथा पत्रकार चिरञ्जीवी मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रधानाध्यापक यामकुमार पाण्डे, सहायक प्रधानाध्यापक खेमबहादुर थामी, पत्रकार गोकर्ण भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष निरमाया थामी तथा शिक्षक लक्ष्मी ओलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।