थामी जातिको मौलिक भाषा, इतिहास, धर्म, संस्कार, संस्कृति, भेषभूषा र पहिचानलाई समेटेर तयार पारिएको थामी भाषाको गीत ‘नि थाङ्मी हानी आप्राचा’ को स्टुडियो भर्सनसहितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत सर्जक डम्बरबहादुर थामी ‘विगुल’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हिलेपानी संस्कृत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक, विज्ञान शिक्षक तथा सर्जक डम्बरबहादुर थामी ‘विगुल’ ले उक्त गीत बजारमा ल्याएका हुन् । उनका अनुसार कालिञ्चोक गाउँपालिकाको थामी भाषाको कक्षा ३ को पाठ्यपुस्तक लेखनबाट प्राप्त पारिश्रमिक थामी जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, इतिहास र पहिचान संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस गीत निर्माणमा लगाइएको हो ।
‘नि थाङ्मी हानी आप्राचा’ को नेपाली अर्थ ‘हामी थामी कति सुन्दर’ भन्ने हुन्छ । गीतले थामी समुदायको बाह्य सुन्दरतासँगै भाषा, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज र मौलिक पहिचानको सुन्दरतालाई समेत विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । गीतको स्थायी भागमा थामी जाति, थामी भाषा र थामी संस्कृतिको सुन्दरताको चर्चा गर्दै आफ्नो भाषिक पहिचान जोगाउन थामी भाषा बोल्न र आफ्नो किराती पहिचानप्रति गौरव गर्न आह्वान गरिएको छ ।
गीतको पहिलो अन्तरामा थामी जातिको इतिहास र पुर्खाहरूको परम्परागत इतिहासलाई समेटिएको छ । बारा जिल्लाको सिमाङ्घाट, कोटेश्वर र किरातिछाप हुँदै दोलखाको राङराङथलीसम्म थामी पुर्खाहरूको आगमन भएको कथन प्रस्तुत गरिएको छ। यापति छुकु, सोनारी आजि, उके छुकु र बेते बज्युसँग जोडिएको पुख्र्यौली परम्परा तथा थामी समुदायको विस्तारलाई पनि गीतमा उल्लेख गरिएको छ । यसका साथै थामी जातिको इतिहाससँग सम्बन्धित पतरङ्गा, गोल्मा र हाइहाइ स्युस्यु राजाहरूको प्रसङ्गसमेत समेटिएको छ ।
गीतको दोस्रो अन्तरामा थामी समुदायको प्रकृतिपूजक परम्परा, धर्ती र आकाशका देवीदेवताको पूजा, उभौली–उधौलीमा गरिने भूमे पूजा तथा गुरुबोनहरूसँगै ढ्याङ्ग्रो बजाउँदै नाच्ने मौलिक सांस्कृतिक अभ्यासलाई प्रस्तुत गरिएको छ । थामी समुदायका १२ देवताप्रतिको आस्था, पूजा–आराधना र त्यसबाट मानव समुदायको कल्याण हुने विश्वासलाई गीतले अभिव्यक्त गरेको छ । थामी जातिका मौलिक चाडपर्व, धार्मिक परम्परा र सांस्कृतिक अभ्यासलाई सुन्दर तथा आत्मीय पहिचानका रूपमा चित्रण गरिएको छ । गीतको अन्तिम अन्तराले थामी समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रगतिको बाटोमा अघि बढ्न सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ । ‘रुबान्ठेङ चिणाङ्सा’ अर्थात् प्रगति र उन्नतिको बाटोमा हातेमालो गर्दै थामी जातिको पहिचान र अस्तित्व संरक्षणका लागि सबैलाई जाग्न, उठ्न र एकताबद्ध हुन गीतमार्फत आह्वान गरिएको छ ।
गीतका शब्द डम्बरबहादुर थामी ‘विगुल’ ले रचना गरेका हुन्। राष्ट्रिय गायक तथा सङ्गीतकार रमण थामी र गायिका कृष्टिना राईले स्वर तथा सङ्गीत दिएका छन् । गीतको एरेन्ज तथा मिक्सिङ सुन्दर लामाले गरेका छन् भने त्रिताल रेकर्डिङ स्टुडियोमा अनिश योञ्जनले रेकर्ड गरेका हुन् । थामी भाषाका शब्द तथा भाषिक शुद्धतासम्बन्धी सल्लाहकारका रूपमा नेपाल थामी समाजका पूर्वमहासचिव लक्ष्मण थामी र पूर्वसंस्थापक उपाध्यक्ष देवेन्द्र थामीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गीतमा देवेन्द्र थामी दुङ्सुपेरे, शक्ति थामी, गौरी थामी, पदम थामी, निलिमा थामी र स्वप्निल थामी लगायतका कलाकारहरूको सहभागिता रहेको छ । त्यस्तै गीतको छायाङ्कन, दृश्य सम्पादन तथा ग्राफिक्स अधिनायकमान शेरचनले गरेका छन् भने दृश्य निर्माण स्नोफल डिजिटल इन्टरटेनमेन्टले गरेको हो ।
थामी समुदायको मौलिक भाषा, इतिहास, धर्म, संस्कार, संस्कृति, भेषभूषा र परम्परालाई गीत–सङ्गीतमार्फत अभिलेखीकरण तथा प्रवद्र्धन गर्ने प्रयासका रूपमा यस गीतलाई हेरिएको छ । नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिप्रति आकर्षित गर्न तथा थामी जातिको ऐतिहासिक र सांस्कृतिक पहिचानबारे जानकारी दिन गीतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।