दोलखा, शैलुङ गाउँपालिका–१ कालापानीमा सञ्चालित शैलुङ इको भिलेज होटलले पर्यटकलाई विशेष स्वादका रूपमा शैलुङ मार्सी चामल (रातो पोखरेल) को भात खुवाउँदै आएको छ । जुम्लाको मार्सी चामलको चर्चा भइरहेका बेला शैलुङको आफ्नै गाउँपालिकाभित्रका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

होटल सञ्चालक दिनेश श्रेष्ठका अनुसार होटल सञ्चालनमा आएको नौ महिनादेखि नै यहाँको मेनुमा शैलुङ मार्सी चामल स्थायी रूपमा राखिएको छ । “जुम्ला मार्सीको झल्को मात्र होइन, स्वादिलो र पौष्टिक पनि भएकाले सबै ग्राहकलाई यही चामलको भात खुवाउने गरेका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार पर्यटकका लागि यो नयाँ स्वादको अनुभव भएकाले कतिपय त खानाकै लागि होटलमा आउने गर्छन् ।
भोज खाना २५० रुपैयाँ र ननभेज खाना ३५० रुपैयाँमा उपलब्ध छ । होटल सुरु भएदेखि हालसम्म करिब दुई हजार किलो चामल खरिद गरिएको छ । यो धान मुख्यतया मागापौवा र काटाकुटी क्षेत्रमा फल्छ, जहाँ स्थानीय किसानहरू पुस्तौँदेखि यसको खेती गर्दै आएका छन् । शैलुङ गाउँपालिका निवासी नेत्र मोक्तानका अनुसार यहाँको भौगोलिक संरचना शैलुङ मार्सी धानका लागि विशेष अनुकूल छ । खाना सेटमा प्रायः दाल, तेल र नूनबाहेकका वस्तु शैलुङ गाउँपालिकाभित्रैको उत्पादन प्रयोग गरिन्छ । चामल, आलु, काउली, बन्दाकोपी, प्याज, खुर्सानी, लसुन, सागपातजस्ता तरकारी सिजनअनुसारको हुन्छन्, भने खाजामा स्थानीय आलु उसेनेको खुवाइन्छ । ग्राहकको चाहनाअनुसार गाउँकै उत्पादन किवी र पदमचालको रक्सी पनि उपलब्ध हुन्छ ।
डेढदेखि दुई करोड रुपैयाँसम्मको लगानीमा तयार भएका कालापानीका होटलहरुमा हाल काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट बढी पर्यटक आउँछन् । स्थानीय व्यवसायीहरूका अनुसार केही वर्षमै यहाँ हजारौँ पर्यटक समेट्न सक्ने होटलहरूको संख्या थपिनेछ ।