दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य शैलुङ भ्रमण गर्न आउने पर्यटकले आगामी साउन १ गतेदेखि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । शैलुङ गाउँपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै शैलुङ ग्रेटवाल हुँदै शैलुङ क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको जनाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेका अनुसार शैलुङ गाउँपालिकाको आर्थिक ऐन–२०८३ बमोजिम साउन १ गतेदेखि शुल्क संकलन सुरु गरिनेछ । संकलित रकम शैलुङ ग्रेटवालको नियमित मर्मत, सरसफाइ तथा व्यवस्थापनमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, दोलखाको कालापानी हुँदै शैलुङ भ्रमणमा जाने पर्यटकबाट पनि प्रतिव्यक्ति ५० रुपैयाँ नै शुल्क लिइनेछ । तर, दोलखाको मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिका, साथै रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका स्थायी बासिन्दालाई प्रवेश शुल्कमा पूर्ण छुट दिइने व्यवस्था गरिएको छ । विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई भने प्रवेश शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको शैलुङ ग्रेटवाल संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण गरिएको हो । करिब ५०० मिटर लामो उक्त ग्रेटवाल निर्माणका लागि संघीय सरकारले ३ करोड ५० लाख रुपैयाँ र शैलुङ गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए ।
प्राकृतिक सौन्दर्य, मनोरम हिमशृङ्खलाको दृश्य र धार्मिक महत्वका कारण शैलुङ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँको प्रमुख गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले प्रवेश शुल्कबाट प्राप्त हुने रकम पर्यटकीय पूर्वाधारको संरक्षण र सेवाको गुणस्तर सुधारमा उपयोग गर्ने अपेक्षा गरेको छ ।