हप्तामा दुई दिन सार्वजनिक विदा लागू भएसँगै दोलखा–रामेछापको सीमामा अवस्थित पर्यटकीय गन्तव्य शैलुङमा आन्तरिक पर्यटकको उल्लेख्य भीड बढ्न थालेको छ । पछिल्ला हप्ताहरूमा विशेषगरी शनिबार शैलुङ पुग्ने पर्यटकको संख्या ३ हजार नाघ्ने गरेको छ भने एक सातामै करिब १० हजारभन्दा बढी पर्यटक भित्रिएको स्थानीय व्यवसायीहरू बताउँछन् ।
दुई दिनको विदा व्यवस्थाले यात्राको ढाँचा नै फेरिएको छ । पहिले शुक्रबार पुगेर शनिबार फर्किने प्रवृत्ति रहे पनि अहिले अधिकांश पर्यटक शनिबार पुगेर आइतबार फर्किने गरेका छन् । कालापानीस्थित शैलुङ इको भिलेज रिसोर्टका सञ्चालक दिनेश श्रेष्ठका अनुसार नयाँ वर्ष २०८३ सुरु भएसँगै पर्यटक आगमन झन् तीव्र बनेको छ । “नयाँ वर्षदेखि मात्रै करिब एक लाख जति पर्यटक भित्रिएका छन्,” श्रेष्ठले बताए ।
शैलुङ पुग्नेमा कलेज तथा विद्यालयका विद्यार्थी, सहकारी समूह, सरकारी तथा निजी क्षेत्रका कर्मचारीको उपस्थिति बढी देखिन्छ । काठमाडौंबाट कालापानीसम्म करिब १२२ किलोमिटर सडक पहुँच सहज भएपछि यात्रा थप सहज बनेको छ । पछिल्लो समय ट्राभल एजेन्सीहरूले प्याकेज टुर सञ्चालन गर्न थालेपछि पनि पर्यटक आगमनमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ ।
विशेषगरी कालापानी नजिकै निर्माण गरिएको शैलुङ ग्रेटवाल युवा पुस्ताका लागि आकर्षणको केन्द्र बनेको छ । सामाजिक सञ्जालका लागि टिकटक, रिल्स र फोटो खिच्न आउनेहरूको संख्या उल्लेख्य छ । यसले शैलुङलाई नयाँ पुस्तामाझ ‘ट्रेन्डिङ’ गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गरेको छ ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिएको शैलुङ बौद्ध र हिन्दु दुवै धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रूपमा चिनिन्छ । १०० भन्दा बढी साना–ठूला थुम्काहरूको समुच्चय मानिने शैलुङ क्षेत्रमा हरियाली, हिमाली दृश्य र सांस्कृतिक विविधताको संगम देख्न सकिन्छ ।
पर्यटन पूर्वाधार पनि क्रमशः विस्तार हुँदै गएको छ । कालापानी क्षेत्रमा हाल करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन्, जसले एकैपटक झन्डै १० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्ने होटल व्यवसायीहरूको दाबी छ । स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा थप पूर्वाधार विकासको काम अघि बढिरहेको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार यदि सडक, सरसफाइ र व्यवस्थापनलाई थप व्यवस्थित गर्न सकिए शैलुङ निकट भविष्यमै देशकै प्रमुख ‘वीकेन्ड डेस्टिनेसन’ बन्ने सम्भावना रहेको छ ।