२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले मानवीय तथा भौतिक संरचनामा गहिरो क्षति पु¥यायो । हजारौँले ज्यान गुमाए, घरबार, विद्यालय र स्वास्थ्य संस्थाका भवनहरू क्षतविक्षत बने । तर, यही विपत्तिपछि ग्रामीण स्वास्थ्य क्षेत्रमा भने अपेक्षाभन्दा फरक—सकारात्मक—परिवर्तन देखिन थालेको छ ।
शैलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्कीका अनुसार, भूकम्पअघि गाउँमा स्वास्थ्य पूर्वाधार निकै कमजोर थियो । “भूकम्पपछि भत्किएका स्वास्थ्य संस्थाका भवनहरू पुनर्निर्माण हुँदा सबैजसो भूकम्पप्रतिरोधी बने,” उनले भने, “अहिले उपचारका लागि सुरक्षित र व्यवस्थित भवन उपलब्ध छन्, जुन ठूलो उपलब्धि हो ।”
भूकम्पको तत्कालीन अवस्थालाई सम्झँदै उनी भन्छन्, “त्यतिबेला घाइते र बिरामीलाई त्रिपालमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता थियो, स्वास्थ्य संस्था नै सञ्चालनयोग्य थिएनन् ।” तर अहिले अधिकांश वडामा पक्की स्वास्थ्य चौकी, आवश्यक उपकरण र नियमित स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको छ ।
भूकम्पपछिको अर्को महत्वपूर्ण परिवर्तन हो—स्वास्थ्य चेतनामा वृद्धि। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गाउँगाउँमा पुगेर सरसफाइ, पोषण र रोग रोकथामसम्बन्धी सचेतना फैलाए । “हात धोएर खाना खाने, सफा पानी पिउने, घर वरपर सरसफाइ राख्ने जस्ता आधारभूत बानीहरू पनि भूकम्पपछि व्यापक बने,” कार्कीले बताए ।
यसले सर्ने रोग नियन्त्रणमा उल्लेखनीय प्रभाव पारेको छ। पहिले गाउँमा सामान्य मानिने झाडापखाला, बालमृत्यु जस्ता समस्या अहिले निकै घटेका छन् । तर, जीवनशैलीमा आएको परिवर्तनसँगै नयाँ चुनौती पनि देखिएको छ । “अहिले करिब ७० प्रतिशत रोग नसर्ने खालका छन्—जस्तै मुटु रोग, क्यान्सर र मृगौलासम्बन्धी समस्या,” कार्की भन्छन्। शैलुङ–२ भुषाफेदामा मात्र नसर्ने रोगका कारण १२ जनाको मृत्यु भइसकेको तथ्यांकले यो चुनौतीलाई थप गम्भीर बनाउँछ ।
स्थानीय बासिन्दाले पनि भूकम्पपछिको परिवर्तनलाई प्रत्यक्ष अनुभूत गरेका छन् । शैलुङ–२ मालीघ्याङका सोमबहादुर श्रेष्ठ भन्छन्, “पहिला बिरामी बोक्दै बजारसम्म लैजानुपथ्र्यो । अहिले गाउँमै सडक पुगेको छ, एम्बुलेन्स सेवा उपलब्ध छ ।” उनका अनुसार, घरघरमा शौचालय निर्माण, सुरक्षित खानेपानीको पहुँच र स्वास्थ्य सेवाको सहज उपलब्धता भूकम्पपछिका सकारात्मक उपलब्धि हुन् ।
यस्तै, शैलुङ–१ दूधपोखरीका खड्गबहादुर मोक्तानले स्वास्थ्य चौकीको पक्की भवन, औषधिको नियमित आपूर्ति र स्वास्थ्यकर्मीको उपस्थिति अहिलेको ठूलो परिवर्तन भएको बताउँछन् । “पहिले सामान्य रोगले पनि समस्या बनाउँथ्यो, अहिले उपचार सजिलै पाइन्छ,” उनले भने ।
स्थानीय सरकार पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठका अनुसार, सबै वडामा स्वास्थ्य चौकी निर्माण, गाउँघर क्लिनिक सञ्चालन तथा सुविधासम्पन्न शैलुङ अस्पताल सञ्चालनमा ल्याइएको छ। “नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने । भूकम्पले केवल संरचना मात्र होइन, सोचाइ पनि बदलिदियो । गाउँघरमा स्वास्थ्यलाई “आफ्नै जिम्मेवारी” का रूपमा बुझ्ने प्रवृत्ति बढेको छ । विपत्तिले सधैँ विनाश मात्र ल्याउँदैन, कहिलेकाहीँ नयाँ सम्भावनाको ढोका पनि खोलिदिन्छ । २०७२ को भूकम्पले दोलखाका गाउँहरूलाई ठूलो पीडा दियो, तर त्यही पीडाले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको बाटो पनि देखायो। अहिलेको चुनौती भनेको—बढ्दो नसर्ने रोग नियन्त्रण गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउनु हो ।