दोलखामा लगातार झरी, हावाहुरी र चट्याङ परिरहेका कारण जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले असोज १८ गतेदेखि २० गतेसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा र असिनासहितको हावाहुरीको सम्भावना रहेकाले काठमाडौं आवतजावत नगर्न आग्रह गरेको छ ।
साथै, सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै दोलखा जिल्लाभर अर्को आदेश नभएसम्मको लागि अत्यावश्यक काम बाहेक अन्य सवारी साधन आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले उल्लेख गरेको छ ।
दशैंको अवसरमा टिका लगाउन टाढा टाढा यात्रा गर्ने यात्रुहरू सातदोबाटो, चरिकोटलगायत स्थानमा रोकिएर प्रतीक्षा गरिरहेका देखिन्छन् । लगातार झरीका कारण यातायात अवरुद्ध भई यात्रुहरू अलपत्र परेको अवस्था देखिएको छ ।
यो मौसमीय चेतावनीसँगै दोलखा पनि उच्च जोखिममा परेको छ । बिहानैदेखि लगातार वर्षा भइरहेकाले जिल्लाका विभिन्न ठाउँमा पहिरो र ढिस्को खस्ने घटना देखिन थालेका छन् । दोलखाबाट काठमाडौं जाने मुख्य सडकहरूमा समेत पहिरोको खतरा बढेको छ ।
अरनिको यातायात मार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित राजमार्ग भासिएको छ । त्यस्तै, धुलिखेल–खावा हुँदै काठमाडौ जाने मुख्य सडकमै माथिबाट पहिरो, ढिस्को खस्ने क्रम जारी रहेकाले जोखिम बढेकाले सावधानी अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले असोज १८ गतेदेखि २० गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म अरनिको राजमार्गलगायत जिल्लाभित्रका सबै मुख्य र सहायक सडकमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी भने अपवाद हुने जनाइएको छ ।