गाउँमै उत्पादन भएका अर्गानिक तरकारी तथा फलफूल काठमाडौँ पठाएर वैतेश्वर गाउँपालिका–३ मिर्गेका शान्ति तामाङले महिनामै लाखौँ रुपैयाँको कारोबार गर्दै आएका छन् ।
मिर्गे लहरेमानेबाट बिहान काठमाडौँ जाने यात्रुवाहक गाडीमार्फत गाउँघरमा उत्पादित तरकारी तथा फलफूल पठाउने गरेका तामाङले गत वर्षदेखि यो व्यवसाय सुरु गरेका हुन् । यस व्यवसायबाट हाल उनले महिनामा करिव २ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको जानकारी दिएका छन् ।
सिजनअनुसार गाउँमा उत्पादन हुने साग, निङरो, मूला, फर्सी, स्कुस, आलु, काक्रो, च्याउ, खुर्सानीजस्ता तरकारी नियमित रूपमा काठमाडौँ पठाइन्छ । त्यसैगरी सुन्तला, लप्सी, किवी र कुचो पनि मौसमअनुसार गाडीमै हालेर पठाउने गरिएको तामाङले बताए । गाउँका सामान्य किसानले ३–४ मुठा साग वा थोरै परिमाणका तरकारी ल्याए पनि तामाङले संकलन गरेर एकैपटक ६० केजीसम्म काठमाडौँ पठाउने गरेका छन् । यसले साना किसानलाई पनि आफ्नो उत्पादन बिक्री गरेर जीविकोपार्जन गर्न सहज भएको उनी बताउँछन् ।
काठमाडौँमा आफन्त र चिनजान भएका व्यक्तिसँग फोन सम्पर्क गरेर सामान बुझाउने व्यवस्था मिलाइएको छ । बेलुकी आफ्नो पसलमा सामान संकलन गरी बिहान काठमाडौँ जाने यात्रुवाहक गाडीमा पठाउने गरिन्छ ।
यसरी गाउँमा उत्पादित अर्गानिक वस्तुको बजार सुनिश्चित हुँदा कृषकलाई राहत मिलेको तामाङको भनाइ छ । तामाङ जस्तै अन्य केही व्यक्तिहरूले पनि गाउँमा उत्पादन भएका अर्गानिक वस्तु संकलन गरी काठमाडौँ पठाउन थालेका छन्, जसले स्थानीय कृषि र ग्रामीण अर्थतन्त्रलाई थप चलायमान बनाएको छ ।