वैतेश्वर गाउँपालिकाले नागरिकलाई घरदैलोमै सहज र छिटो भूमि प्रशासन सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन कार्यालय सञ्चालनमा ल्याएको छ । अब जग्गा पास, नामसारी, कित्ताकाटलगायतका भूमि प्रशासनसम्बन्धी सेवा लिन सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

भूमि प्रशासन कार्यालयको औपचारिक उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष छवि लामाले नेपाल सरकारले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरेपछि गाउँपालिकाले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै कार्यालय स्थापना गरेको बताउनुभयो । उहाँले गाउँपालिकामा जनशक्ति अभाव रहे पनि भूमि प्रशासन सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आवश्यक कर्मचारीलाई दक्ष बनाउँदै थप उपकरण व्यवस्थापन गरी छिटो, सरल र प्रभावकारी सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “स्थानीय सरकार भनेको नागरिकको सबैभन्दा नजिकको सरकार हो । त्यसैले नागरिकले सामान्य कामका लागि पनि घण्टौँ यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न हामीले यो सेवा सुरु गरेका हौँ,” अध्यक्ष लामाले भन्नुभयो ।

यसअघि वैतेश्वर गाउँपालिकाका नागरिकले जग्गासम्बन्धी सामान्य कामका लागि समय, पैसा र श्रम खर्च गरेर सदरमुकाम चरिकोट पुग्नुपर्ने बाध्यता थियो । अब गाउँपालिकामै सेवा उपलब्ध भएपछि यात्रा खर्च बचत हुनुका साथै सेवा छिटो र सहज रूपमा प्राप्त हुने विश्वास गरिएको छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गका नागरिकलाई यस सेवाबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोचन खनालले धेरै स्थानीय तहले भूमि प्रशासन कार्यालय सञ्चालन गरे पनि विभिन्न कारणले निरन्तरता दिन नसकेको अनुभव रहेको उल्लेख गर्दै वैतेश्वर गाउँपालिकाले भने जस्तोसुकै चुनौती आए पनि सेवा बन्द नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्णयपछि धेरै पालिकाहरुले असार १ गतेदेखि यो सेवा सुरु गरेको थियो भने दोलखा जिल्लामा भूमि प्रशासन सेवा सञ्चालन गर्ने वैतेश्वर पहिलो स्थानीय तह बनेको हो । भूमि प्रशासन सञ्चालनका क्रममा ६० वर्षभन्दा पुराना भूमि अभिलेख सुरक्षित राख्नुपर्ने, अभिलेख तथा सफ्टवेयर व्यवस्थापन गर्नुपर्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो । ती चुनौतीका बाबजुद नागरिकले गुणस्तरीय, पारदर्शी र छिटो सेवा पाउने वातावरण बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
उदघाटन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत लोचन खनालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता श्यामकुमार तामाङ, भूमि प्रशासन कार्यालय दोलखाका प्रतिनिधि एकलाल तामाङ तथा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।