नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को सदस्य सचिवमा दोलखाका युवा कलाकार कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । वैतेश्वर गाउँपालिका–२ गैरिमुदीमा जन्मिनुभएका श्रेष्ठलाई नेपाल सरकारले हालै नाफाको सदस्य सचिवमा नियुक्त गरेको हो ।
ग्रामीण परिवेशमा जन्मिएर कला क्षेत्रमा निरन्तर क्रियाशील श्रेष्ठ पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत परिचित कलाकारका रूपमा स्थापित हुनुभएको छ । कला सिर्जनाका माध्यमबाट देश तथा विदेशका विभिन्न कला प्रदर्शनी, कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउँदै आउनुभएका श्रेष्ठले नेपाली ललितकलालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन योगदान गर्दै आउनुभएको छ ।
युवा अवस्थामै कला क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउन सफल श्रेष्ठको सदस्य सचिवमा नियुक्तिलाई दोलखाको कला क्षेत्रका लागि मात्रै नभई समग्र जिल्लाकै गौरवको विषयका रूपमा लिइएको छ । ग्रामीण परिवेशबाट कला यात्राको सुरुवात गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल युवा कलाकार श्रेष्ठ प्रतिष्ठानको नेतृत्वदायी भूमिकामा पुग्नु नयाँ पुस्ताका कलाकारका लागि समेत प्रेरणाको विषय बनेको छ ।
कलाप्रतिको निरन्तर लगाव, सिर्जनशीलता र सक्रियताका कारण श्रेष्ठले कला क्षेत्रका विभिन्न विधामा आफ्नो छुट्टै पहिचान बनाउँदै आउनुभएको छ । उहाँको नियुक्तिसँगै नेपाली ललितकलाको संरक्षण, प्रवद्र्धन र विकासका साथै नयाँ पुस्ताका कलाकारको सिर्जनालाई प्रोत्साहन र कलाकारको सम्मानमा थप काम हुने अपेक्षा गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, हस्तकला लगायत ललितकलाका विभिन्न विधाको संरक्षण, विकास र प्रवद्र्धनमा काम गर्दै आएको छ । प्रतिष्ठानको सदस्य सचिवका रूपमा श्रेष्ठले आफ्नो लामो कला अनुभव, सिर्जनात्मक सोच र युवा पुस्तासँगको सम्बन्धलाई उपयोग गर्दै नेपाली कलालाई थप उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
दोलखाको ग्रामीण भूगोलबाट कला यात्रामा अघि बढेर देश–विदेशमा आफ्नो सिर्जनाबाट परिचित बन्नुभएका श्रेष्ठको यो नियुक्तिले ‘गाउँबाट पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन्छ’ भन्ने सन्देशसमेत दिएको छ ।