उमेरले ७१ वर्ष पुगेका वैतेश्वर गाउँपालिका–६ नाम्दुका मानबहादुर तामाङ अहिले पनि बिहानदेखि साँझसम्म आफ्नै ड्रागन फ्रुट बारीमा व्यस्त भेटिन्छन् । उमेरले विश्राम खोज्ने बेला तामाङ भने १० रोपनी जमिनमा लगाएको ड्रागन फ्रुटको रेखदेख, उत्पादन र बजार व्यवस्थापनमा सक्रिय छन् । यही मेहनतले उनलाई यस वर्षमात्र २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने कृषकका रूपमा स्थापित गरेको छ ।

तामाङले २०८१ सालदेखि ड्रागन फ्रुटबाट व्यावसायिक उत्पादन लिन थालेका हुन् । उत्पादन सुरु गरेको पहिलो वर्षमै करिब १० लाख रुपैयाँ आम्दानी गरेका उनले गत वर्ष १८ लाख रुपैयाँ कमाए । यस वर्ष भने आम्दानी २० लाख रुपैयाँभन्दा बढी पुग्ने उनको अनुमान छ । यस वर्षको पहिलो लटबाट मात्रै उनले साढे ६ लाख रुपैयाँभन्दा बढीको ड्रागन फ्रुट बिक्री गरिसकेका छन् । अहिले दोस्रो लटको ड्रागन फ्रुट टिपेर बिक्री गर्ने तयारी भइरहेको छ । अझै तीन लट उत्पादन लिन बाँकी रहेको तामाङले बताए ।

“समयमै पानी परेको भए यस वर्ष ३० देखि ४० लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान थियो । पानी ढिलो परेकाले उत्पादनमा केही कमी आयो,” तामाङले भने । सुरुवातमा चार सय बोटबाट ड्रागन फ्रुट खेती थालेका तामाङको फर्ममा अहिले १० रोपनी क्षेत्रफलमा ६५० वटा बोट पुगेका छन् । सबै बोटले उत्पादन दिन थालिसकेका छैनन् । उत्पादन दिने बोटको संख्या बढ्दै गएसँगै आगामी वर्षमा आम्दानी अझ बढ्ने उनको अपेक्षा छ ।
बजार खोज्नुपरेको छैन
तामाङका अनुसार ड्रागन फ्रुटको बजारका लागि खासै समस्या छैन । स्वादिलो र सबै उमेर समूहका मानिसले खान मिल्ने भएकाले स्थानीय बजारमै यसको माग उच्च छ । अहिले जिरी, मैनापोखरी, तामाकोशी बजार र चरिकोटमा उत्पादन भएको ड्रागन फ्रुटले माग धान्न नसकेको उनी बताउँछन् । गत वर्षदेखि काठमाडौंमा समेत ड्रागन फ्रुट पठाउन थालेका छन् । जिल्ला बाहिर काठमाडौं पठाउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले सकेसम्म स्थानीय बजारलाई प्राथमिकता दिने गरेको तामाङको भनाइ छ ।
तर, उच्च भूभागमा उत्पादन भएको ड्रागन फ्रुट भएकाले काठमाडौंमा समेत यसको माग राम्रो रहेको उनी बताउँछन् । तामाङको फर्म समुद्री सतहबाट करिब १ हजार ४५० मिटर उचाइमा छ । “उच्च भूभागमा उत्पादन भएको भएकाले यहाँको ड्रागन फ्रुटको गुणस्तर राम्रो छ । तराईमा उत्पादन भएकोभन्दा यहाँको ड्रागन फ्रुट १५ दिनसम्म पनि खासै बिग्रिँदैन,” उनले भने । स्वादका साथै पौष्टिकताका हिसाबले समेत ड्रागन फ्रुट उपयोगी भएकाले यसको बजार भविष्यमा अझ विस्तार हुने उनको विश्वास छ ।
७१ वर्षमा पनि खेतमै पसिना
तामाङको ड्रागन फ्रुट खेतीको सबैभन्दा प्रेरणादायी पक्ष उनको उमेर हो । ७१ वर्ष पुगे पनि उनी अहिले पनि आफैं बारीमा खटिन्छन् । बोटको हेरचाहदेखि उत्पादन टिप्ने र बजारसम्म पु¥याउने काममा उनको सक्रियता उत्तिकै छ ।
उमेरले काम गर्न नसक्ने भन्ने सोचलाई चुनौती दिँदै तामाङले कृषि कर्मबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । नयाँ पुस्ता रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला आफ्नै गाउँमा बसेर कृषि उद्यम गर्न सकिने उनको अनुभवले देखाएको छ । “गाउँमै बसेर केही गर्न सकिन्छ । मेहनत र लगनशीलता हुने हो भने कृषिबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ,” तामाङले भने ।
सरकारी सहयोगको अपेक्षा
ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गरिरहे पनि आफूले अपेक्षाअनुसार सरकारी निकायबाट सहयोग नपाएको तामाङको गुनासो छ । हालसम्म वैतेश्वर गाउँपालिकाबाट एउटा धारा र बागमती प्रदेश सरकारबाट घेराबारका लागि १० लाख रुपैयाँ सहयोग पाएको उनले बताए ।
स्थानीयस्तरमै कृषि तथा उद्यममा लागेका किसानलाई सरकारी तथा गैरसरकारी निकायले आवश्यक सहयोग र प्रोत्साहन गर्न सके गाउँका बाँझो जमिन उपयोगमा आउने र युवालाई विदेशिनबाट रोक्न सकिने उनको भनाइ छ । बेला बेलामा कृषि प्राविधिकहरु आउने, अनुुगमन गर्ने र सल्लाह सुुझाव दिने हो भने अझ प्रेरणा बढ्ने आशा उनले राखेका छन् । “सरकारले गाउँमै केही गर्न खोज्ने किसान र उद्यमीलाई साथ दिने हो भने धेरै युवाले विदेश जानुपर्दैन । बाँझो जमिन पनि रहँदैन,” तामाङले भने ।
१० रोपनी जमिनमा ६५० वटा ड्रागन फ्रुटका बोट हुर्काउँदै ७१ वर्षको उमेरमा पनि खेतबारीमै पसिना बगाइरहेका तामाङ अहिले आफ्ना लागि मात्र होइन, गाउँका युवाका लागि पनि उदाहरण बनेका छन् । उनको मेहनतले कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई गाउँमै बसेर सम्मानजनक आम्दानी गर्ने बलियो आधार बन्न सक्ने देखाएको छ ।