कालिञ्चोक गाउँपालिका लापिलाङ निवासी ८४ वर्षीय कैया थामी सम्मानित हुनुभएको छ । उच्च उमेर हुँदाहुँदै पनि निरन्तर बाख्रा पालनमार्फत आत्मनिर्भर जीवन बिताइरहनुभएकोमा योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।
झरेनी सामुदायिक वन उपभोक्ता समूहको १५ औँ वार्षिक साधारण सभाको अवसरमा कैया थामीलाई पाँच सय रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको झरेनी सामुदायिक वन उपभोक्ता समूहका सचिव बलबहादुर थामीले जानकारी दिनुभयो । ८४ वर्षको उमेरमा पनि बाख्रा पालनलाई निरन्तरता दिँदै श्रम र आत्मसम्मानको जीवन जिउँदै आउनुभएको थामी स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
विगत २० वर्षदेखि निरन्तर बाख्रा पालन गर्दै आउनुभएका थामीले हाल ३० वटाभन्दा बढी बाख्रा र एउटा भैँसी पालन गर्दै आउनुभएको छ । उहाँको कृषि कर्ममा श्रीमतीको पनि निरन्तर साथ रहँदै आएको सचिव थामीले बताउनुभयो । बुढ्यौली उमेरलाई निष्क्रियताको बहाना नबनाई उत्पादनशील जीवन बिताइरहनु भएका थामी गाउँमा मेहनत, धैर्य र आत्मनिर्भरताको उदाहरणका रूपमा चिनिनुहुन्छ ।
कैया थामी केवल एक बाख्रापालक मात्र नभई गाउँ समाजका अनुभवी अभिभावक पनि हुनुहुन्छ । उहाँले युवालाई श्रमको सम्मान गर्न, स्वदेशमै बसेर कृषि तथा पशुपालनमार्फत जीविकोपार्जन गर्न प्रेरित गर्दै आउनुभएको छ । स्थानीयस्तरमा पशुपालन संस्कृतिको निरन्तरता, आत्मनिर्भर जीवनशैलीको अभ्यास र परिवारको दायित्व वहन गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहनु उहाँको विशेष पहिचान हो ।
यस वर्ष कैया थामीसहित अन्य चार जना उत्कृष्ट कृषकहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा तहमाया थामी (तरकारी खेती), सुभाने थामी (बाख्रा पालन), देवती थामी (तरकारी खेती) र दुर्गा खत्री (किवी खेती) रहेका छन् । सबैलाई पाँच सय रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
सम्मान कार्यक्रम कालिञ्चोक गाउँपालिका–६ का वडाध्यक्ष भरत पाण्डेले प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले बाख्रा पालनमार्फत सम्मानित हुनु आर्थिक उपलब्धि मात्र नभई उमेर, अवस्था र सीमाभन्दा माथि उठेर समाजका लागि प्रेरणादायी उदाहरण बन्नु भएको बताउनुभयो ।