वैतेश्वर गाउँपालिका–८ मा अवस्थित क्षत्रवती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको छ । विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा कक्षा अनुसार अध्ययनरत २१५ जना विद्यार्थीलाई स्कुल झोला प्रदान गरिएको हो ।
विद्यालयको शैक्षिक विकासमा निरन्तर योगदान गर्दै आएकी स्थानीय समाजसेवी तथा अक्षयकोष एवं जग्गा दाता लक्ष्मी खड्काले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई स्कुल झोला वितरण गर्नुभएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको विशेष उपस्थिति रहेको थियो ।
समाजसेवी खड्काले यसअघि पनि विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरूलाई सहयोग पु¥याउने उद्देश्यले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी छात्रवृत्ति तथा स्टेशनरी सामग्री उपलब्ध गराउँदै आउनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काकी धर्मपत्नीसमेत रहनुभएकी खड्का दम्पतीले विद्यालयको भौतिक संरचना विकासका लागि यसअघि नै दर्जनौँ रोपनी जग्गा दान गरिसकेको विद्यालयका प्रधानाध्यापक ध्रुव कार्कीले जानकारी दिनुभयो ।
५९ औँ वार्षिकोत्सवकै अवसरमा समाजसेवी तथा जलस्रोत विज्ञ इञ्जिनियर आत्मराम श्रेष्ठले विद्यालयमा पुस्तकालय स्थापना गरिदिनुभएको छ। नेपाल सरकारका पूर्वसचिवसमेत रहनुभएका श्रेष्ठले विद्यालयको शैक्षिक उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयको भौतिक, सामाजिक तथा शैक्षिक विकासमा योगदान पु¥याउने पूर्वविद्यार्थी, अभिभावक, सहयोगी जग्गा दाता, अक्षयकोष दाता तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अवसरमा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक कार्कीले प्रस्तुत गर्नुभएको थियो ।