दोलखाको कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावती कटुवाचौर नजिकै निर्माणाधीन थामी संग्रहालयको जग खन्ने क्रममा अप्रत्याशित रूपमा प्राचीन दरबारका संरचना फेला परेका छन् । स्थानीयले ‘खान्डु राजाको दरबार’ भनेर चिनाउँदै आएको स्थलमै संरचना भेटिएपछि अहिले संग्रहालय भवन निर्माण कार्य रोकिएको छ भने उत्खनन र अध्ययनको तयारी सुरु गरिएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा संग्रहालय भवन निर्माणका लागि जग खन्ने क्रममा ढुंगाले बनाएका घरका संरचना, पुराना भित्ताका अवशेष र दरबार शैलीका संकेत देखिएपछि संग्रहालय भवनको लागि जग खन्ने काम तत्काल स्थगित गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर थामीले जानकारी दिनुभयो । उहाँका अनुसार आगेडाँडा (यङयङछि) क्षेत्रमा करिब ४३२.५ वर्गमिटर क्षेत्रफलभित्र दरबारका अवशेष भेटिएका हुन् ।

स्थानीय अगुवाहरूले भने यो खोज केवल संयोग नभई लामो समयदेखि उठ्दै आएको आवाजको परिणाम भएको बताएका छन् । “यस क्षेत्रमा खान्डु राजाको दरबार हुन सक्छ भन्ने कुरा हाम्रा बाजेबज्यैले सुनाउँदै आएका थिए,” स्थानीय नरेन्द्रकुमार थामी भन्छन्, “त्यही आधारमा उत्खनन गर्नुपर्छ भनेर हामीले पटक–पटक आग्रह गर्दै आएका थियौं ।”
उहाँका अनुसार अहिले भेटिएको संरचना निकै पुरानो हुनसक्ने अनुमान गरिएको छ । “यो दरबार २२ सय–२४ सय राज्य हुनुुभन्दा पनि अघिको हुनसक्ने सम्भावना छ,” उनले भने, “यदि त्यसो हो भने यो केवल थामी समुदाय मात्र नभई समग्र दोलखाकै ऐतिहासिक धरोहर बन्न सक्छ ।”
स्थानीय बुढापाकाले यो क्षेत्रलाई ‘खान्डुडाँडा’ भनेर चिनाउँदै आएको पाइन्छ । किंवदन्तीअनुसार, थामी समुदायका एक शक्तिशाली राजा ‘खान्डु’ ले यही डाँडामा आफ्नो दरबार स्थापना गरेका थिए । चारैतिरबाट खुला, रणनीतिक रूपमा उपयुक्त र सौन्दर्यले भरिएको स्थान भएकाले राजाले यसैलाई आफ्नो निवास बनाएको जनविश्वास छ । कतिपयले त यो स्थानलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा समेत प्रयोग गरिएको बताउने गरेका छन् ।
कालिञ्चोक गाउँपालिकाको यस क्षेत्रमा थामी समुदायको बाक्लो बसोबास छ, जसले गर्दा यहाँ अझै धेरै ऐतिहासिक तथा सांस्कृतिक अवशेष लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । कालिञ्चोक गाउँपालिकाका पूर्वअध्यक्ष विनकुमार थामीले ऐतिहासिक सम्पदा फेला परेको अवस्थामा यसको संरक्षण पहिलो प्राथमिकता हुने बताए । “हामी संग्रहालय बनाउन थालेका थियौं, तर अब भेटिएको सम्पदाको वैज्ञानिक उत्खनन र संरक्षणमा केन्द्रित हुन्छौं,” उनले भने ।
स्थानीयवासीहरू अहिले यस स्थानको थप उत्खनन, अध्ययन र प्रचारप्रसारमा जुटेका छन् । “यदि यो साँच्चिकै खान्डु राजाको दरबार प्रमाणित भयो भने, यो ठाउँ ऐतिहासिक मात्र होइन, पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण बन्न सक्छ,” स्थानीय वेदचन्द्र उप्रेतीले बताए ।
इतिहास र किंवदन्तीबीचको दूरी घट्दै गएको यो घटनाले थामी समुदायको पहिचान, इतिहास र सांस्कृतिक विरासतलाई नयाँ ढंगले उजागर गर्ने अपेक्षा गरिएको छ । अब सबैको नजर यस उत्खननले के–कस्तो प्रमाण बाहिर ल्याउँछ भन्नेमा केन्द्रित भएको छ । स्थानीयको पहलमा भेटिएका संरचनाको अध्ययन, अनुुन्धानको लागि पुरातत्व विभागमा पठाउने तयारी रहेको छ ।